कोशी प्रदेश सरकारको रुझान : दलहरु छलफलमै व्यस्त
- १४ श्रावण, २०८०, आईतवार ०४:२६
- मुख्य समाचार
- न्यूज समय
कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेको मिति अब २ दिनमात्र बाँकी छ । दिन नजिकिँदै गए पनि ४७ सदस्य बनाउन कुनै पनि गठबन्धनले सकेका छैनन् । सरकार गठनको प्रयासमा आज पनि सत्ता गठबन्धनका नेताहरुको बैठक काठमाडौंमा बस्दै छ । सो बैठक केन्द्रीय नेतामात्र नभएर त्यहाँका संसदीय दलका नेताहरुलाई पनि निम्त्याइएको छ ।
त्यसो त प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि आह्वान गरेसँगै सुरु भएको छलफल शनिबार पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनमा सघाउन आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग लामो छलफल गरेका थिए । तर छलफल निष्कर्षबिहीन बनेको थियो ।
छलफलकै क्रमलाई निरन्तरता दिँदै अहिले बिहान ९ बजेदेखि कोशी प्रदेशका नेताहरुसँग बैठक बसिरहेको छ । सो बैठकका लागि माओवादी केन्द्र, कांग्रेस, समाजवादी पार्टीलगायतका नेता काठमाडौं आइसकेका छन् ।
सरकार गठनका लागि दलहरुले विभिन्न विकल्पमा छलफल थालेको बताएका छन् । तर सत्ताको नेतृत्वमै झिनाझम्टी पनि सुरु भएको छ । कांग्रेस नेतृत्वमा नभएर माओवादीले सरकार नेतृत्व गर्ने सहमति जुटाउन त्यस दलका नेता इन्द्रहाङ लागि परेका छन् ।
उता कांग्रेस भने आफू घाइते भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ । सत्ता गठबन्धनका नेताहरुले सकेसम्म गठबन्धन दलबाटै सरकार गठनको प्रयास जारी राखेका छन् । तर सत्ता गठबन्धन र एमाले दुवै पक्षसँग बहुमत ४७ प्रदेश सभा सदस्यको समर्थन पुगेको छैन ।