सभामुख देवराज घिमिरेसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले आइतबार सिंहदरबारमा बिदाइ भेट गर्नुभएको छ ।
सभामुख कार्यकक्षमा भएको भेटमा दुई देशको सम्बन्ध, नेपाली श्रमिकको रोजगार सुरक्षा, व्यापार, उड्डयन, संसदीय आदान प्रदानबारे कुराकानी भएको थियो । कतारी राजदूत सात वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कँदै हुनुहुन्छ ।
सभामुख घिमिरेले नेपाल र कतारबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा झनै प्रगाढ भएर हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले कतारमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेको बताउँदै उनीहरुको रोजगार र सामाजिक सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।
‘हामीबीच राजनीतिक, साँस्कृतिक र जनता जनताबीचको सम्बन्ध रहिआएको छ,’ सभामुखले भन्नुभयो, ‘आगामी दिनमा पनि हाम्रो सम्बन्ध उस्तै प्रगाढ रहनेछ ।’
सभामुख घिमिरेले नेपाली अलैंची, चिया, कफी, पानीलगायत कृषिजन्य सामग्री सोझै कतार निर्यातको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
राजदूत युसुफ बिन मोहम्मद अल–हेलले नेपाली श्रमिकका लागि कतारले उल्लेख्य व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले न्यूनतम तलब ४ सय डलर पु¥याएको, कतारमा चारवटा अस्पतालमा श्रमिकको निःशुल्क उपचार व्यवस्था मिलाएको, बैंकिङ प्रणालीबाट तलबको व्यवस्था मिलाए र तलब नदिने कम्पनीको दर्ता खारेज गर्ने गरेको समेत जानकारी गराउनुभयो ।
न्यूज समय
२४ असार, २०८०, आईतबार ००:००