नेपाली कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने भेला शुक्रबार सम्पन्न भएको छ । बिहीबार बिहान सुरु भेलामा पार्टी सभापति शेरबहादुर देउवा भने एकछिन पनि पुग्नु भएन । भेलाको निमन्त्रणा भने पार्टी महामन्त्रीहरुले गर्नु भएको थियो ।
तर भेलामा सहभागी केही जिल्ला सभापतिहरुले केन्द्रीय सभापतिको खोजी गर्नुभयो । उहाँहरुले जिल्ला नेतृत्वहरुको सहभागितामा केन्द्रीय नेतृत्वलाई नदेख्दा मजा नलागेको बताउँदै हुनुहुन्थ्यो । पार्टी मुख्यालयमै भएको बैठकमा सभापतिजी आइदिएको भए हुन्थ्यो भन्ने सवाल सभापतिहरुले उठाएका थिए ।
तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति देउवालाई जानकारी गराएरै जिल्ला सभापतिहरुको भेला डाकिएको जानकारी दिनुभएको थियो ।
जिल्ला नेतृत्वले केन्द्रीय नेतृत्वको खोजी गर्ने र महामन्त्रीहरुले स्पष्ट गर्ने गर्दै भेलाले १४ वुँदे आन्तरिक प्रतिवद्धतासहित कार्यक्रम सकाएको केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ ।
भेलाको अन्त्यमा महामन्त्रीद्वयले बैठकबाट आएका सुझावलाई पार्टी तहमा छलफल गरी आवश्यकताअनुसार केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
पार्टी महामन्त्रीद्वयले केन्द्रीय कार्यालयमा आयोजना गरेको जिल्ला सभापतिहरुको महत्वपूर्ण भेलामा समेत केन्द्रीय सभापतिको अनुपस्थितिलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो दिनहरुमा पार्टी सभापति देउवाविरुद्ध महामन्त्रीद्वय आक्रमक देखिएका छन् ।
महामन्त्रीहरुले देउवाबाट पार्टी नचल्ने भन्दै विशेष अधिवेशन माग गर्ने रणनीति तय गरेको समाचारहरु बाहिर आएका छन् । त्यसो त केन्द्रीय समिति बैठकसमेत लामो समयदेखि बस्न सकेको छैन । पार्टी विधानत प्रत्येक दुई–दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ ।
न्यूज समय
२२ असार, २०८०, शुक्रबार ००:००