पेट्रोलियम पदार्थको मूल्य घट्यो

न्यूज समय

नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा हेरफेर गरेको हो ।

निगमको सोमबार नै बसेको बोर्ड बैठकले पेट्रोलियम पदार्थमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।

भारतबाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियमा इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले कम भएको छ ।

यससँगै अब पेट्रोल १६७.५ देखि १७० रुपैयाँ प्रतिलिटरमा पाइने भने डिजल र मट्टितेलमा १४७.५०, १४९ र १५० कायम गरिएको छ ।

जसमा पहिलो वर्ग भन्नाले चारआली, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी पर्दछ । त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा तथा दिपायल पर्दछन् ।