सामना फिल्मस् प्रालिद्वारा निर्मित ‘काँडेतार’ को कथा उत्कृष्ट छनोट भएको छ । आफू निर्मित काँडेतारको कथा पुरस्कृत भएको सामना फिल्मस्का नवल खड्काले जानकारी दिनुभयो ।
चलचित्र विकास बोर्डबाट स्टोरी बैंक (कथा संग्रहालय) अन्तर्गत कथालाई उत्कृष्ट छनोट गरी आर्थिक सहयोग/सहकार्यबापतको रकमसमेत प्रदान गरेको छ । कथा उत्कृष्ट भएबापत सामना फिल्मस्ले नगर १० लाख रुपैयाँ प्राप्त गरेको छ ।
सो रकम खड्कालाई सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले एक कार्यक्रमबीच प्रदान गरिएको छ । आफ्नो मेहनत पुरस्कृत हुँदा ज्यादै खुसी भएको निर्माता खड्काले बताउनुभयो ।
कथा पुरस्कृत भएसँगै उहाँले देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित चलचित्रलाई नेपाल सरकारले यसरी सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मान भएको बताउनुभयो । पुरस्कारले स्वदेशी चलचित्रको प्रबर्ध्दन भएको मैले महसुस आफूले गरेको खड्काको भनाइ छ ।
उहाँले चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहाल, अध्यक्ष भुवन केसी, बोर्ड सदस्यहरु, र स्टोरी बैंकका छनोट समितिबाट प्राप्त सकारात्मक भावनाप्रति धन्यवाद दिँदै कृतज्ञता जाहेर गर्नुभएको छ ।
पुरस्कार प्रदान गर्दै काँडेतारजस्ता फिल्मलाई नेपाल सरकारले सहयोग गर्न पाउँदा आफू र सरकारसमेत खुसी भएको सूचना प्रविधि तथा सञ्चार मन्त्री शर्मा बताउनुभयो । राष्ट्रवादी चलचित्रलाई सहकार्य राशि हस्तान्तरण गर्न पाउँदा आफू गौरवान्वित भएको उहाँको प्रतिक्रिया थियो ।
न्यूज समय
१७ असार, २०८०, आईतबार ००:००