मधुमेहका बिरामीले खानुपर्ने खाना
अस्वाभाविक खानपानकै कारण हाम्रो समाजमा हिजोआज मधुमेहको जोखिम बढ्दै गइरहेको छ । खानपानमा ध्यान नदिँदा नै मोटोपन बढ्छ र यही मोटोपनले मानिसलाई अल्छी बनाउँछ । जसको परिणामस्वरूपमधुमेह हुन्छ । त्यसैले मधुमेहबाट बच्न र भइसकेकाले पनि खानपानमा विशेष ध्यान दिनै पर्छ ।
के–के खाने, के–के नखाने ?
बिहानको खानामा बिशेष ध्यान दिनुपर्छ । सकभर सानो थाल वा प्लेटमा खाने बानी बसाल्नुपर्छ । पेट उकुसमुकुस हुने गरी खानु सरिकोलागि बेफाईदा हुन्छ । खाना खाँदा थालमा ५० प्रतिशत सागपात, तरकारी, सलाद हुनुपर्छ भने २५प्रतिशत भात र २५प्रतिशत दाल, मासु वा प्रोटिन हुनुपर्दछ । कति आकारको प्लेटमा खाने त ? यो व्यक्तिको तौल, उचाइअनुसार हुन्छ । तर सामान्यतया ९ इन्चको प्लेट उपयुक्त मानिन्छ । बिहानको खानाको तुलनामा बेलुकीको खाना एक चौथाइमात्र खानु पर्छ । बेलुकी खाना खाएपछि हामी सुत्छौ । त्यसको उद्देश्य सुत्नु मात्र हो । दिउँसोको खाना खाएपछि हामी काम गर्छौ । बेलुका खाना पाएपछि सुत्छौ । त्यसैले बेलुका खाना कम खाने गर्नुपर्दछ । बेलुकीको खाना छिटो खानु उपयुक्त हुन्छ । खाना खाएपछि सामान्यतया दुई घण्टा अगाडि सुत्नु हुँदैन । दुई घण्टा खाना पच्न समय लाग्छ । बेलुकीको खाना हल्का हुनुपर्छ । रोटी खान सकिन्छ । फलफुल, सलाद, सुप मात्र खाएर पनि सुत्न सकिन्छ । भात नै खानुपर्छ भन्ने छैन
जङ फुड बहिस्कार गरौं
हिजोआज जङफुडको बोलावाला छ । यसले मोटोपन गराउँछ । बालबालिकालाई भान्छामा पाकेको खानेकुरा खुवाउनुपर्छ । आफ्नो सजिलोका लागि र उनीहरूको जिद्दीले तयारी खानेकुरा दिने बानी बसाल्नु हुँदैन । यही मोटोपनले मधुमेहसहित अन्य रोगहरू निम्त्याइरहेको छ । त्यसैले यसको प्रयोग घटाउनै पर्छ । मैदाले बनेका खाद्य पदार्थ खानु हुँदैन । मैदाले बनेका पुरी, मम, समोसा स्वास्थ्यका लागि राम्रा होइनन । मैदाले बनेको चिज शरीरले तान्छ । सोस्छ । त्यसैले पिठोले बनेको रोटी राम्रो हुन्छ । पिठोमा हुने छोक्राले तान्न सक्दैन । मैदासँग चिल्लो पनि छ भने त्यसले झन् खराब गर्छ । मैदासँग चिल्लो र चिनी मिसिएको खानेकुरा त अझ हानिकारक हुन्छ ।
कुन तेल राम्रो त ?
हामी खानेतेल प्रयोग गर्दा यो तेल राम्रो भन्छौं । राम्रो भनिएका तेल पनि धेरै प्रयोग गर्दा हानिकारक हून्छन । त्यसैले हामीले खानेकुरामा प्रयोग गर्ने तेलको मात्र न्यून हुनुपर्छ । सामान्यत पाँच जनाको परिवारका लागि एक लिटर खाने तेल एक महिना पुग्नुपर्छ । धेरै तेल राखेर झानेको दाल राम्रो होइन । हामी साग तरकारी भुट्दा तेलबाट मज्जाले धुवाँ आउन दिन्छौं । धुवाँ आएको तेलमा झ्वाई गरेर साग तरकारी भुट्छौ । तर डढाएको तेल राम्रो होइन । धुवाँ आउने गरी तेल तताउनु हँुदैन । डढाएको तेलले मुटुमा असर गर्छ । साग तरकारी उमालेर पकाएको राम्रो मानिन्छ । तर त्यो सकिँदैन भने एकदमै थोरै तेलमा भुट्नु लाभदायक हुन्छ । एक पटक तताएको तेल दोस्रो पटक प्रयोग गर्नुहँुदैन । स्कुल जाने बच्चाहरूमा मोटोपन बढ्दै छ । स्कुलमा खेल्ने ठाउको अभाव छ । घरबाट बाहिर निस्केर खेल्न खुला ठाउँ छैन । सबैका लागि बजारमा पाइने तयारी खाना सजिलो भएको छ । यसरी नै जङफुडको प्रचलन बढ्दै जाने हो भने अबको १० वर्ष पछि यसले विकराल रूप लिनेछ ।
मधुमेहले महामारीको रूप लिन सक्छ
मधुमेह नियन्त्रण गर्न अहिलेदेखि नै खानपान र मोटोपन नियन्त्रण गर्न जरुरी छ । एउटै भान्छामा फरकफरक व्यक्तिका लागि फरकफरक खाना पाक्नु राम्रो होइन । मधुमेहका बिरामीका लागि छुट्टै र अरूका लागि छुट्टै पकाउनै हुँदैन । मधुमेहका बिरामीले पनि जे पाक्ने त्यही खानुपर्छ । तर के कति मात्रामा खाने र कस्तो खाने भन्ने कुराको भने सधैं हेक्का राख्नुपर्छ । चिल्लो खानु भएन । कम खानु प¥यो । जे खाए पनि थोरै थोरै गरेर खानुपर्छ । हाम्रो शरीरलाई तन्दुरुस्त राख्न खाना खाएर मात्र पुग्दैन । हाम्रो शरीरमा खानाको भूमिका ३० देखि ४० प्रतिशत मात्र हुन्छ । बढी भूमिका शारीरिक व्यायामको हुन्छ । हरेक दिन ३० देखि ४५ मिनेट व्यायाम गर्नु पर्छ । व्यायाम गर्नु भनेको सामान्य हिडडुल होइन । हिँड्दासास फुल्नुपर्छ । पसिना निस्किनु पर्छ । रोगले धनी वा गरिब चिन्दैन । सबैलाई समात्न सक्छ । साग, तरकारी, फलफूल र सलाद महंँगो नै खानुपर्छ भन्ने छैन । मौसमअनुसारको तरकारी र फलफूल खानुपर्छ । उचाइ र तौलअनुसारको खाना खानुपर्छ । धूमपान कुनै पनि रोगका लागि राम्रो होइन । मधुमेहका लागि त झन् खतरनाक नै हो । यसले मिर्गौला, मुटु, फोक्सो र आँखामा मधुमेह गराउँछ । खानपानका नियम पालन गर्न सक्यौं भने मधुमेह नियन्त्रण गर्न सकिन्छ ।
स्वास्थ्य जाँच आवश्यक
मधुमेहमा औषधिको विकल्प छैन । चिकित्सकले औषधि खानै पर्ने अवस्थामा मात्र औषधिको सेवन गर्न सल्लाह दिन्छ । निको हँुदै गएपछि औषधि बन्द गराउन सकिन्छ । धेरैजसोको गुनासो हुन्छ मैले त महिनामा दुई पटकसम्म जाँच गराएको थिएँ । तर एक्कासि मधुमेह देखियो । ब्लड टेस्ट गर्दैमा मधुमेह भए, नभएको यकिन गर्न सकिँदैन । खाली पेट रगत जाँच, खाना खाएको दुई घण्टापछि रगत जाँच र एचबीएवानसी गरी तीनवटै जाँच गरेपछि मधुुमेह भए, नभएको पत्ता लगाउन सकिन्छ ।
डा. देवकोटा एमबीबीएस, एमडी इन्टरनल मेडिसिनडीएम, डाइबेटिज एन्ड इन्डोक्राइनोलोजी हुन । उनी हाल नेपाल डाइबेटिज, थाइरोइड, इन्डोक्राइनोलोजी एन्ड फिजिसियन सेन्टर, नयाँबानेश्वर र वीर अस्पतालमा कार्यरत छन ।
साभारः पौष २० गतेको हेन्थटुडे नेपालमा प्रकाशित