संयुक्त समिति सहित १२ विषयगत समितिका सभापतिहरुले शपथ ग्रहण गरे

न्यूज समय

संयुक्त संसदीय सुनुवाई समिति सहित संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाका १२ विषयगत समितिका सभापतिहरुले पद तथा गोपनीयताका शपथग्रहण गरेका छन् ।

सभामुख डोरप्रसाद अर्यालले शुक्रबार सिंहदरवारमा आयोजित कार्यक्रममा १० विषयगत समिति र दुई संयुक्त समितिका सभापतिहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

शपथ ग्रहण गर्नेहरुमा प्रतिनिधिसभाका कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा आकृति अवस्थी रहेकी छन् ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल, सार्वजनिक लेखा समिति सभापतिमा भरतबहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्नीमा उदास, अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी र उद्योग समिति सभापतिमा रहवर अन्सारी, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा.ओजस्वी शेरचन, संयुक्त राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा गणेश कार्कीले पनि शपथ लिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय सुनुवाइ समितिमा निविरोध भएका बोधनारायण श्रेष्ठले पनि शपथ ग्रहण गरे ।
शपथ लिएका मध्य निर्विरोध भएका सार्वजनिक लेखा समितिका सभापति खड्का नेपाली काँग्रेसको तर्फबाटका हुन भने अन्य सबै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् ।

शपथ ग्रहण समारोहमा उपसभामुख रुबी कुमारी ठाकुर र कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम लगाएतको सहभातिता थियो ।