भोटेकोशी बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण योजना औपचारिक रुपमा सुरु

न्यूज समय

सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना सुरु गरेको छ ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको रु १७ हजार ५०० दाखिला गरे संगै यो योजना औपचारिक रुपमा सुरु भएको हो ।

यो जनाअन्तर्गत बाढीबाट प्रभावित बालबालिकाले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक रु १७ हजार ५०० सहायता पाउनेछन् ।

विपद् प्रभावित बालबालिकालाई सहयोग गर्ने नाममा कुनै पनि व्यक्ति वा संस्थाले सहयता रकम आफूखुसी अन्यत्र लैजान नपाउने व्यवस्था समेत सरकारले मिलाएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटिजीएफको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरीलाई लक्षित गरी विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको हो ।

मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई एमआइटीजिएफ, एसओएस चिल्ड्रेन भिलेजलगायत साझेदार संस्थाको सहकार्यमा संरक्षण तथा स्याहार सेवा उपलब्ध गराइनेछ ।

मन्त्री वादीका अनुसार विभिन्न साझेदार संस्थामार्फत हालसम्म ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । जसअनुसार एमआइटिजीएफमार्फत १५०, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिकालाई सहयोग गरिनेछ ।