निर्वाचन तोकिएकै मितिमा हुने भएकाले भ्रममा नपरी प्रचार प्रसारमा लाग्न उम्मेदवारलाई प्रमुख आयुक्त भण्डारीको आग्रह

न्यूज समय

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तोकिएकै समयमा हुने भएकाले भ्रममा नपरी प्रचार प्रसारमा लाग्न उम्मेदवारलाई आग्रह गरेका छन् ।

गोरखापत्र संस्थानले आईतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने बताएका हुन् ।

केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गरेको भन्दै प्रमुख आयुक्त भण्डारीले निर्वाचनको विकल्प निर्वाचन नै भएको बताए ।

नयाँ पुराना सबै शक्तिहरुले निर्वाचनलाई नै मुलुकको मार्गका रूपमा स्वीकार गरिसकेकोले सुशासन प्रवाह गर्ने पवित्र उद्देश्य र आकांक्षा राखेर बसेका व्यक्तिहरूलाई भ्रममा पारेर, धमिलो पानीमा माछा मार्ने प्रयास सफल नहुने प्रमुख आयुक्त भण्डारीको तर्क छ ।

निर्वाचन विथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधिलाई सरकारले निषेध गर्ने तथा त्यसलाई निर्वाचन आयोगले समेत नजिकबाट अनुगमन गरिरहेको पनि प्रमुख आयुक्त भण्डारीले बताए ।