देशलाई अस्थिरतातर्फ धकेलिनबाट बचाउन निर्वाचनको विकल्प छैन गृहमन्त्री अर्याल

न्यूज समय

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनका क्रममा हराएका, लुटिएका हतियार र बन्दीगृहबाट फरार कैदीलाई फागुन २१ गते अगावै नियन्त्रणमा ल्याइसक्ने बताएका छन् ।

गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले त्यस्तो बताएका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा फरार अधिकांश कैदीबन्दी सम्पर्कमा आइसकेको र बाँकीलाई समेत विशेष अभियान सञ्चालन गरी यथाशीघ्र नियन्त्रणमा ल्याइने बताएका हुन् ।

भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये सुरक्षा गोष्ठी पनि एक भएको भन्दै मन्त्री अर्यालले निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पु¥याई शासनको वैधानिकता प्रदान गर्ने बताए ।

निर्वाचन लोकतन्त्रको असल अभ्यास भएको भएको भन्दै उनले देश थप अस्थिरतातर्फ धकेलिनबाट बचाउन तथा सुशासनकालागि निर्वाचनको विकल्प नभएको तर्क गरे ।

बैठकमा नेपाली सेनाका बलाधिकृत, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक,राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, कोशी प्रदशेका १४ वटै जिल्लाका सुरक्षा प्रमखहरुको सहभागिता रहेको थियो ।