उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले चुनावी एकताको घोषणा

न्यूज समय

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले चुनावी एकताको घोषणा गरेका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहले सहमति पत्रमा हस्ताक्षर गर्दै आउँदो प्रतिनिधिसभाको चुनावका लागि एकताको घोषणा गरेका हुन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका दुवै पार्टीका प्रतिनिधीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशको वर्तमान जटिल र परिवर्तनशील राजनीतिक अवस्थाबाट निकास खोज्ने उद्देश्यले दुवै पार्टीबीच चुनावी सहकार्य गरिएको बताए ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा दुवै पार्टीका उम्मेदवारले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बलेको चिम प्रयोग गर्ने सहमति समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा सुशासन, पारदर्शिता, स्थिर सरकार, मधेस तथा दुर्गम क्षेत्र केन्द्रित विकास, संविधान संशोधन, राज्यको पुनर्संरचना, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय लगाएत विषयमा समेटेर संयुक्त चुनावी घोषणापत्रका मुख्य एजेन्डा रहने बताइएको छ ।