तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला टेकेको दिनको स्मरण गर्दै ७२ औँ सगरमाथा दिवस भव्यताका साथ मनाउने तयारी गरिएको छ । जेठ १३, १४ र १५ गते खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा ५ नाम्चेमा सगरमाथा दिवस मनाउने तयारी गरिएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए । उनले गाउपालिकाको आर्थिक सहयोगमा नाम्चे युवा समूहले विविध कार्यक्रमका साथ ७२ औँ सगरमाथा दिवस मनाउन लागिएको बताए ।
दिवसको अवसरमा ३ दिनसम्म नाम्चे बजारमा सञ्चालन हुने कार्यक्रममा खुला भलिबल प्रतियोगिता, मिनी म्याराथन, शेर्पा नृत्य प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरिएको नाम्चे युवा समूहका अध्यक्ष मिङमा ग्याल्जेन शेर्पाले जानकारी दिए । साङ्गीतिक कार्यक्रमका लागि गायक राजु लामा र उहाँको ब्यान्ड मंगोलियन हर्ट खुम्बु आउने आयोजकले जनाएको छ । सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला टेक्नुभएको थियो ।
आरोही हिलारीको सन् २००८ जनवरी ११ र नोर्गेको सन् १९८६ मे ९ तारिखमा निधन भयो । पर्यटन विभागका अनुसार वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म तीनसय ९५ जनाले सगरमाथा आरोहण गरेका छन् ।
न्यूज समय
११ जेष्ठ, २०८२, आईतबार ००:००