दशैलाई मध्यनजर गर्दै यही असोज २३ गते देखि लामो दुरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।
मंगलबार बसेको यातायात व्यवस्था विभाग सहितका सरोकारवाला निकायहरुको बैठकले दशैं तथा चाडवाडलाई मध्यनजर गर्दै लामो दुरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
बैठकमा यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन र जिम्मेवार भएर प्रस्तुत हुन पनि सरोकार निकाए सवैमा आग्रह गरिएको छ ।
लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने, टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य रूपमा परिचयपत्र र युनिफर्म लगाउनुपर्ने, टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा अभिलेख राख्नुपर्नेमा सहमति भएको छ ।
त्यस्तै चाडपर्वको मौका छोपेर तोकिएको भन्दा बढी भाडा असुल गर्ने तथा कालोबजारी गर्ने जोकोहीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी विभागले दिएको छ ।
त्यस्तै बैठकमा सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालनमा ल्याइने निर्णय भएको छ ।
यात्राका समयमा सम्पूर्ण यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानी लगायतका अत्यावश्यक सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेमा बैठकमा उपश्थित सवैले प्रतिवद्धता जनाएको अखिल नेपाल यातायात मजदुर संगठनका अध्यक्ष दिपक केसीले जानकारी दिए।


न्यूज समय
२० आश्विन, २०८३, मंगलबार १३:५६