नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आज जेठ ८ गते हुने निर्वाचनका लागि लगानीकर्ता तथा व्यवसायी अम्बिका प्रसाद पौडेलले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। आगामी जेठ ८ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले व्यवसायी समुदायको साझा भावना, संस्थागत विकास र महासङ्घलाई अझ प्रभावकारी तथा सबैको अपनत्व भएको संस्था बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
पौडेलले महासङ्घको कार्यकारी सदस्यका रूपमा आफू तेस्रो कार्यकालमा रहेको उल्लेख गर्दै व्यवसायी समुदायको माया, विश्वास र समर्थनका कारण प्रत्येक पटक उत्कृष्ट मतसहित निर्वाचित हुँदै आएको बताएका छन्। उनले यसलाई गौरवका साथै थप जिम्मेवारीको विषय भएको उल्लेख गरेका छन्। यसअघि पूँजी बजार फोरम तथा कर तथा राजस्व समितिको सभापतिको जिम्मेवारी सम्हालिसकेका पौडेलले व्यवसायीका आवाज सरकारसम्म पुर्याउने, कर तथा राजस्वसम्बन्धी जटिलता समाधानका लागि पहल गर्ने तथा निजी क्षेत्रका हितका विषयमा निरन्तर संवाद र सहकार्य गर्दै आएको बताएका छन्।
उनले बलियो अर्थतन्त्रका लागि सक्षम निजी क्षेत्र आवश्यक पर्ने उल्लेख गर्दै पारदर्शी, उत्तरदायी र प्रभावकारी महासङ्घको आवश्यकता औँल्याएका छन्। पौडेलले आफ्नो उम्मेदवारी पद प्राप्तिको आकांक्षाभन्दा पनि संस्थागत सुशासन, व्यवसायीहरूको अधिकार संरक्षण तथा महासङ्घलाई सम्पूर्ण व्यवसायीहरूको साझा घर बनाउने अभियानका रूपमा रहेको बताएका छन्।
साना, मझौला तथा ठूला सबै व्यवसायीका आवाज समान रूपमा सुनिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले आगामी दिनमा अझ बढी समर्पण, इमानदारी र जिम्मेवारीका साथ संस्थाको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पौडेलले महासङ्घको गरिमा, विश्वसनीयता र प्रभावकारितालाई अझ उच्च बनाउने साझा संकल्पसहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेको उल्लेख गर्दै व्यवसायी समुदायसँग साथ, सुझाव र समर्थनको अपेक्षा गरेका छन्।


न्यूज समय
८ जेष्ठ, २०८३, शुक्रबार ००:००