नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी युनियनले यहि बैशाख २७ गते शनिबार देखि ३० गते सम्म गर्न लागेको ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
६ देशका ११ र नेपालका सहित झण्डै १२० जना पत्रकार सहभागी हुने उक्त समिटको पहिलो दिनको उद्घाटन शनिवार विहान ललितपुरको होटल हिमालयमा उप–राष्ट्रपति रामसहाय प्रसाद यादवले गर्ने छन् ।
कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङ तथा परराष्ट्र मन्त्री डा.आरजु राणा (देउवा) को पनि उपश्थिती रहने आयोजक नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिए ।
नेपाली पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले नेपालको ईतिहासमा पहिलो पटक आयोजना गर्न लागेको समिटको उदेश्य नागरिक सम्बृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपान्तरणमा केही योगदान पु¥याउने भन्ने रहेको अध्यक्ष लम्सालले बताए ।
उद्घाटन सत्र पछि राजधानीमा ‘राजनैतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिता को कति नजिक को कति टाढा’ भन्ने विषयलाई केन्द्रमा राखेर प्रस्तुती तथा बहसको कार्यक्रम आयोजना गरिने कार्यक्रम तय भएको छ ।
काठमाडौंको कार्यक्रम लगत्तै सम्पूर्ण पत्रकारलाई लिएर टोलि पोखरा हुँदै लुमान्थाङको यात्रा तर्फ लाग्ने छ । यात्राका क्रममा युनियनले पोखरामा ‘जलवायु संकट र पत्रकारिता’, ‘एआई र न्यू मिडिया इन साउथ एसिया’, ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा प्रस्तुती एवं छलफल गर्ने कार्यक्रम तय भएको पनि अध्यक्ष लम्सालले जानकारी दिए ।
त्यसैगरी समिटको मुस्ताङको जोमसोममा स्थानीय बासिन्दाको सहभागीतामा ‘जलवायु संकटमा मिडियाको भूमिका’ बारेमा बृहत अन्तक्रिया हुनेछ ।
सोही दिन लोमान्थाङ घोषणा पत्र जारी गरी कार्यक्रम सम्पन्न गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
न्यूज समय
२६ बैशाख, २०८२, शुक्रबार ००:००