स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गरेका छन्। मंगलबार काठमाडौँमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको भन्दै टिकाउने कुरामा भने कठिनाइ रहेको बताए।
उनले काठमाडौँभित्र स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति रहेको भए पनि काठमाडौँ बाहिर भने जनशक्तिको पूर्ण रुपमा अभाव रहेको उल्लेख गरे। उनले संघीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै चिकित्सक रहेको बताए।
उनले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौँ बाहिर दूरदराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति बनाउन सक्नुपर्ने बताए। त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी रहेको उनको भनाइ थियो।
मन्त्री पौडेलले भने, ‘नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छ भनेर भन्ने स्थिति छैन। तर टिक्ने कुरा असाध्यै मुस्किल छ। टिकाउने कुरा असाध्यै गाह्रो पनि रहेको छ। काठमाडौँभित्र स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति छ। तर काठमाडौँ बाहिर जनशक्तिको पूर्ण रुपमा अभाव भएको स्थिति छ।’
न्यूज समय
२३ बैशाख, २०८२, मंगलबार ००:००