केपी ओली नेतृत्वको सरकार परिर्वतनको हल्ला व्यापक रुपमा चलिरहेका बेलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजु राणाले सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्र भएको टिप्पणी गरेकी छन् । बैशाख ७ गतेदेखि सपरिवार थाइल्याण्ड भ्रमणबाट फर्कनेक्रममा त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार परिवर्तनको हल्लाको खण्डन गरिन् ।
सरकार परिवर्तनको हल्लाबारे पत्रकारले सोधेको प्रश्नमा उनले भनिन्–‘तपाईहरुले नै भन्नुभयो हल्ला भनेर । यो हल्ला मात्रै हो । केही समय मौनता भयो भने इन्टरटेनमेन्टका लागि न्यूजहरु आउने गर्छ । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला विदेशमा बसेर हुँदैन । न्यूज हेरेर हामी आफै छक्क प¥यौँ ।’
उनले यो भ्रमणमा कांग्रेस सभापति शेरबहादुर देउवाको कुनै राजनीतिक भेटघाट नरहेको स्पष्ट पारिन् । उनले भनिन्–‘‘उहाँको यो स्वास्थ्य चेकअप र पसर्ननल भ्रमण हो, भेटघाटको कुनै कार्यक्रम थिएन ।’ उनले बैंककबाटै सभापति देउवा र प्रधानमन्त्री ओलीबीच हिजो टेलिफोनमा कुराकानी भएको जानकारी दिइन् ।
न्यूज समय
१२ बैशाख, २०८२, शुक्रबार ००:००