तराई–मधेशमा आज रङहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै

न्यूज समय

तराई–मधेशमा आज रङहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ। हिमाली एवं पहाडी क्षेत्रमा अघिल्लो दिन र तराईमधेशमा भोलीपल्ट होली मनाउने चलन छ । सरकारले होली मनाउनका लागि तराई मधेशमा आज सार्वजनिक बिदा दिएको छ।

सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ लगाउँदै सबैलाई रसरङले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगी पर्वको रूपमा लिने गरिन्छ। प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो।

रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रंग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ। होली आउना साथै तराई भेगमा होरिया गीत गाएर रमाउने गर्छन्। वर्षभरिको मनमुटाव होली पर्वमा रङ र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ।