अब नेपाललाई पनि एउटा आईटी हबको रूपमा चिनाउन मन्त्री गुरुङको आह्वान

न्यूज समय

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अब नेपाललाई पनि एउटा आईटी हबको रूपमा चिनाउन आह्वान गरेका छन् । बिहीबार क्यान इन्फोटेक २०२५ को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । क्यान इन्फोटेकले सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावना र अवसरहरू सिर्जना गर्ने उनले विश्वास व्यक्त गरे ।

उनले निजी क्षेत्रलाई सहकार्यका लागि आह्वान गर्दै सरकार आवश्यक नीतिगत र कानुनी वातावरण बनाउन तयार रहेको बताए । मन्त्री गुरुङले नेपाल सूचना प्रविधिमा दक्षिण एसियाकै सबैभन्दा पछाडि परेको स्वीकार गरे ।

उनले निजी क्षेत्रले गरेको प्रयासको सराहना गरे तापनि सरकारको तर्फबाट ठोस नीति र कार्यक्रम बन्न नसकेको स्वीकार गरे । उनले डिजिटल अर्थतन्त्रमा सूचना प्रविधिको भूमिका बढाउनु पर्नेमा जोड दिए । मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि पूर्वाधारको आवश्यकता समेत औँल्याए ।