काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विक्रम संवत् १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने छ । साे अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेल सिंहदरबार पुगेर पृथ्वीनारायण शाहकाे शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
न्यूज समय
२७ पुस, २०८१, शनिबार ००:००