सरकारको ध्यान अव उत्तर–दक्षिणी राजमार्गको काममा केन्द्रीत : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुन लागेको बताएका छन् ।
सङ्घीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले पूर्व–पश्चिम राजमार्गको जस्तै उत्तर–दक्षिण राजमार्गमा पनि केन्द्रित भएर सरकारले काम गर्न थाल्ने बताएका हुन ।
पूर्व–पश्चिम राजमार्गको स्तर उन्नतिको काम जारी रहेको भन्दै उनले सरकार अव भित्री मधेशलाई लक्षित गरेर बनाइएको मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्गको स्तर उन्नतिमा सरकार रहेको जानकारी दिए ।
मन्त्री ज्वालाले १६ औं योजनामा आयोजनाहरु तय गर्दै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा पनि उत्तर–दक्षिण सडकहरुलाई बढी प्राथमिकता दिने प्रतिवद्धता जनाए ।
सरकारले महाकाली करिडोर, सेती राजमार्गको, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, घुर्मी–कटारी–सोलु राजमार्ग, अरनिको राजमार्ग लगाएतकाको अवस्थालाई मध्यनजर गर्दै त्यसलाई उच्च प्राथमिकता दिएर जानु पर्नेमा आफु सहमत भएको बताए ।