१० संसदीय समितिले पायो नेतृत्व
प्रतिनिधिसभाअन्तर्गतका १० वटा समितिले आज नेतृत्व पाएको छ । समितिका नयाँ सभापतिहरुले पद तथा गोपनियताको सपथ पनि आजै लिएका छन् ।
समितिको सोमबार निर्धारित निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका हुन् । उनीहरुलाई सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सपथ खुवाए ।
जसअनुसार अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव छानिएका छन् ।
यस्तैगरी कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका छन् ।
त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेलको निर्वाचित भएका हुन् ।
यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता गरेकोमा पराजुलीले फिर्ता गरिसकेपछि खान निर्वाचित भएका हुन् ।