हेलम्बु क्षेत्रमा फेरि बाढीको वितन्डा : ग्याल्थुम बजार पूरै जोखिम
- ८ भाद्र, २०८०, शुक्रबार ०५:३५
- मुख्य समाचार
- न्यूज समय
सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु क्षेत्रमा फेरि पनि बाढीको वितन्डा मच्चिएको छ । रातभरको भारी वर्षापछि आएको बाढीले हेलम्बु–मेलम्ची क्षेत्रमा बाढीले धेरै क्षति गरिसकेको छ ।
मेलम्ची नदीमा बाढी आउँदा सडक यातायात पूरै अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्य अघि बढाए पनि निरन्तरको वर्षाले सम्भव हुन सकेको छैन ।
मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीयले बताए । मुसलधारे पानी परिरहेको छ । क्षति पुगेको सडक मर्मत गर्न सक्ने अवस्था नभएको नगरपालिकाले जनाएको छ ।
निरन्तर वर्षाका कारण हेलम्बु(४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बाढीले बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन् ।
बाढी बढ्दै र नदीले किनारा बगाउन थालेपछि स्थानीय विद्यालय जोखिममा परेको छ । पानी विद्यालयतर्फ बढेपछि फर्निचरलगायत सामान अन्तै सारिएको स्थानीयले बताए । पानी नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा छ ।
पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था अहिले छ । खोलामा बाढी बढेपछि परीक्षा दिन जाने परीक्षार्थी बाटोमै रोकिएको स्थानीयले बताए । स्थानीय सरस्वती माध्यमिक विद्यालयको पढाइ बन्द गरिएको प्रधानाध्यापकले जानकारी दिए ।
रासस