कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए : नदी तटमा उच्च सतर्कता
- २९ श्रावण, २०८०, सोमबार ०५:२९
- मुख्य समाचार
- न्यूज समय
कोशी ब्यारेजमा पानीको उच्च बहावसँगै सबै ५६ वटै ढोका खोलिएको छ । ठूलो बाढी नआएसम्म ब्यारेजका सबै ढोका खोलिँदैन ।
स्थानीय बूढापाकाका अनुसार सुनसरीको सप्तकोशी नदीमा ३४ वर्षपछिकै ठूलो बाढी देखिएको छ । यो बहावलाई ब्यारेजमा उच्च पानी मापन गरिएको छ । सप्तकोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरीले जनाएको छ ।
सप्तकोशीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड भएको स्रोतले जानकारी दिएको छ । यसअघि १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो ।
आज बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको छ । उज्यालो भएसँगै बहाव विस्तारै घट्दो क्रममा छ ।
तल्लो तटीय क्षेत्रका बासिन्दालाई अझै पनि सतर्क रहन प्रशासन सूचना जारी गरेको छ । बस्तीमा बाढी पस्न सक्ने जोखिम उत्तिकै छ । तर सोमबार १० बजेसम्म कुनै पनि बस्ती बाढी पसेको छैन ।