संसद बंक गर्ने सांसदको नाम सार्वजनिक गरिने
- २४ श्रावण, २०८०, बुधबार ०३:२४
- मुख्य समाचार
- न्यूज समय
जनताबाट निर्वाचित भएर आएका प्रतिनिधिले जनताका कुरा संसदबाट उठाउनु उसको पहिलो कर्तव्य हो । तर तिनै जनप्रतिनिधि लामो समयसम्म जनताका कुरा सुनाउने संसदभित्र नै पस्दैनन् । जनताप्रति अनुत्तरदायी उनीहरुको कारबाही कसले गर्ने ?
तिनै भगुवा सांसदको नाम आज बस्ने प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरिने भएको छ । प्रनिधिसभा बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजकै बैठकमा १० पटकसम्म संसदका कुनै पनि बैठकमा उपस्थित नहुने सांसदहरूको नामावली वाचन गरेर सुनाइने कार्यक्रम रहेको संसद सचिवालय स्रोतले जनाएको छ । उनीहरु के को हुन् त ? संसद बैठक नियमित बंक गर्ने सांसद ।
आजको प्रतिनिधिसभा बैठकमा विषयगत समितिको सदस्य हेरफेरदेखि राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी र मन्त्रिपरिषद कार्यालयबाट आएका पत्रहरु पढेर सुनाइने छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमाले सांसद टोपबहादुर रायमाझीको निलम्बनबारे सूचना सभामुख सुनाउनु हुनेछ ।
यसैगरी आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र शिक्षा मन्त्री अशोककुमार राईले आ–आफ्ना मन्त्रालयगतका प्रस्तावहरु पेश गर्नेछन् ।