आज आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती । नेपाली साहित्यमा आचार्यले गरेको अतुलनीय योगदानलाई नेपाली समाजले सम्झने गरेको छ । उनैको योगदानको कदरस्वरुप प्रत्येक वर्ष असार २९ भानुको जन्मदिनमा विश्वमा छरिएर रहेका नेपाली भाषीले धुमधामसित भानुजन्ती मनाउँछन् ।
भानुजयन्तीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले एक सन्देश सार्वजनिक गरी नेपाली भाषा, साहित्य र सँस्कृतिको संवर्द्धनका निम्ति भानुभक्तको योगदान अतुलनीय भएको उल्लेख गर्नुभएको छ ।
राष्ट्रपतिद्वारा जारी सन्देशमा भानुभक्तले नेपाली भाषालाई काव्यभाषाका रुपमा समन्नुत तुल्याएको उल्लेख गरिएको छ । भनुका कविताको प्रसारसँगै नेपालको बहुभाषिक र बहुसाँस्कृतिक समाजमा राष्ट्रिय एकताको भावना सुदृढ हुने उहाँले विश्वास गर्नुभएको छ ।
रामायणलाई सरल र रोचक ढंगले नेपालीमा लेखेर रामायण वाचनमा सहज बनाइदिएको उहाँ बताउनु हुन्छ । यसबाट हिमाल, पहाड र तराईका जनताबीच भावनात्मक सम्बन्ध विकास गर्न सम्भव भएको पनि उहाँको भनाइ छ ।
रामायण कृतिमार्फत नेपाली भाषीलाई एकताको सूत्रमा बाँध्न एउटा महत्वपूर्ण कडीको रुपमा रहेको छ, राष्ट्रपति पौडेल सन्देशमार्फत भन्नुहुन्छ, ‘रामायण रचनाले देशलाई पृथ्वीनारायण शाहले प्रशासनिक रुपले गराएको एकतालाई भावनात्मक एकताको सूत्रमा बाँध्न सकेको छ ।’
सन्देशमा वर्ष वर्ष दिनमा भानुजयन्ती मनाएर मात्र होइन, चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गरे भानुभक्तप्रति सच्चा श्रद्धाञ्जली हुने उहाँको विश्वास छ ।
न्यूज समय
२९ असार, २०८०, शुक्रबार ००:००