सभामुखद्वारा प्रमुख तीन दलका अध्यक्षसँग छलफल हुँदै
- १९ असार, २०८०, मंगलवार ०५:२१
- मुख्य समाचार
- न्यूज समय
सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका प्रमुखसँग समसामयिक विषयमा छलफल गर्दै हुनुहुन्छ ।
सभामुखले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्न लाग्नु भएको हो ।
निर्धारित कार्यक्रमअनुसार सभामुख घिमिरेले मंगलबार ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा सो छलफल राख्नु भएको घिमिरेको निजी सचिवालयले जनाएको छ ।
छलफलमा संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल हुने सचिवालय सेतले बताएको छ । सो छलफल कार्यक्रममा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि सहभागी हुनुहुने छ ।
वैशाख १५ गते प्रतिनिधिसभाका १० विषयगत समिति गठन भएका थिए । समिति गठन भएको दुई सातापछि एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाउनुभएको हो ।