बिराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवन सारडाले पाथीभरा केबलकार निर्माणमा विरोध हुनु दुःखद् भएको बताएका छन् । उनले विज्ञप्तिमार्फत ताप्लेजुङको पाथीभरामा केबलकार परियोजना निर्माणको विरोधले मुलुकको पर्यटन पूर्वाधारका क्षेत्रमा भइरहेको लगानी नै बिथोलिने अवस्था उत्पन्न भएको भन्दै नेपाल उद्योग परिसंघले चिन्ता व्यक्त गरेका छन् ।
उनले पर्यटन पुर्वाधार निर्माणमा भइरहेको अवरोधले देशको पूर्वाधार विकासका लागि हुने लगानीको वातावरण विथोलिने अवस्थाको सिर्जना हुने बताए । यस्तो गतिविधिले भविष्यमा कोशी प्रदेशमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नकारात्मक सन्देश प्रवाह हुने उनले बताए । केबलकार निर्माणले कोशी प्रदेशकै महत्वपुर्ण धार्मिक धरोहर एवं पवित्रस्थल पाथीभरा मन्दिरको यात्रा सुलभ हुने भए पनि त्यसको विरोधमा कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हड्तालले प्रदेशको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवनमा समेत असर गरेको परिसंघले जनाएको छ ।
छिमेकी देशहरूले समेत धार्मिक स्थलहरूमा केबुलकारको निर्माण गरेर धार्मिक पर्यटक भित्र्याउने काम गरिरहेको भन्दै पाथीभरामा पनि सवैको आस्थालाई कायम गर्दै पर्यटन पुर्वाधार विकासमा अघि बढ्नुको बिकल्प नहुने परिसंघले जनाएको छ । विरोध र आन्दोलनका क्रममा उत्पन्न बिषयमा आपसी सद्भाव कायम गर्दै केवलकार निर्माणका लागि स्थानीय तह र स्थानीय बासिन्दाको समेत अपनत्व कायम गर्न आग्रह गरिएको छ । त्यसका लागि सवै सरोकारवालाहरू गम्भीर बन्नुपर्नेमा जोड दिंदै परम्परा, आस्था र मर्यादामा कुनै आँच नआउने गरी पूर्वाधार विकासमा सहज र निर्वाध अघि बढाउन परिसंघले आग्रह गरेको छ ।
न्यूज समय
२३ माघ, २०८१, बुधबार ००:००