६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताएका छन्। आइतबार राजधानीमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिक साधारणसभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताएका हुन्। उनले आफूहरुले चाहेजसरी अर्थतन्त्रको शिथिलता कम नभएको उल्लेख गर्दै सरकारको हस्तक्षेप पर्याप्त नभएको हो कि भन्ने लागेको बताए।

अब भने सरकार सशक्त हस्तक्षेपका लागि तयार भएको उनको भनाइ थियो। मुलुकको अर्थतन्त्र बिग्रनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले अहिले स्थिर सरकार बनेको र नीतिगत स्थिरतासँगै अर्थतन्त्र पनि सुधार हुँदै जाने बताए। निजी क्षेत्रले गुनासो गर्न छाडेर विकास र समृद्धिको सरकारको यात्रामा सघाउनुपर्ने धारणा पनि अर्थमन्त्री पौडेलले राखे।

चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तुलनात्मक रुपमा लचिलो रहेको र अर्थतन्त्रका समस्या समाधान गर्न केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताए। त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचकहरु सहज बन्दै गएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन बाफियालाई संशोधन गर्न बनेको विधेयकमा भएका व्यवस्था निजीक्षेत्रमैत्री नरहेको बताए। बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या सिर्जना गर्नसक्ने बताए। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन तथा माग बढ्न नसकेको बताए।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*