सहकारी ठगीकाे छानविन गर्न गठित संसदीय समितिले आईतबारदेखि काम थाल्ने
काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि काम थाल्ने भएको छ ।
सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्नेगरी कार्यालयको व्यवस्थापन भइरहेको संयोजक थापाले बताए ।
संसदीय समितिकाल लागि कार्यालय र आवश्यक जनशक्ति जुटाउने कार्य भइरहेको संयोजक थापाले बताए ।
उनले भने, ‘जनशक्ति र कार्यालयको व्यवस्थापन भएपछि समितिले काम थाल्छ । सम्भवतः हामी आइतबारदेखि नै काम थाल्नेगरी तयारीमा जुटेका छौं । आवश्यक बन्दोबस्त मिलाइदिन सभामुख समक्ष आग्रह गरेका छौं । सिंहदरबारभित्रै कार्यालय कायम हुने समेत थापाको भनाइ छ ।
सहकारी ठगी प्रकरणमा छानबिनका लागि सरकारले जेठ १५ गते ७ सदस्यीय संसदीय समिति गठन गरेको थियो । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबीसहित उनको नाम लेख्नुपर्ने अडानबाट पछि हटेपछि संसदीय छानविन समिति गठन भएको हो ।
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई-दुई र नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक-एक जना सांसद राखिएको छ ।
समितिमा कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट थापाक्षेत्री र सरिता भुषाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधानलाई राखिएको छ । संसदीय समितिलाई आवश्यक छानविन गरि प्रतिवेदन बुझाउन तीन महिनाको अवधि दिइएको छ ।