सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस २०८० लाई तीन दिन सम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।
प्रजातन्त्र दिवस मूल समारोह समितिको आज सिंहदरवारम बसेको बैठकले आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयका छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्वलन गरिने कार्यक्रम तय भएको छ ।
दिवसका दिन फागुन ७ गने नेपाली सेनाद्वारा सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै बिगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाइँ गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने निर्णय भएको छ ।
त्यस्तै नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको दिवस मुल समारोह समितिले जनाएको छ ।
सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को औपचारिक मूल समारोह आयोजना गर्ने र उक्त समारोहमा निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी सार्वजनिक तथा सामुदायिक सङ्घ–संस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लब्ध–प्रतिष्ठित व्यक्तित्व तथा सर्वसाधारणको उपस्थितिका लागि आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन आग्रह पनि गरेको छ ।
न्यूज समय
२६ माघ, २०८०, शुक्रबार ००:००