अर्थमन्त्री डा महतले गरे मौद्रिक नीतिको प्रशंसा

न्यूज समय


अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले धेरै राम्रो पक्ष रहेको मन्त्री महतले दाबी गरेका हुन् ।

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पोलिसी रेट ६.५ प्रतिशत तोक्दा बैंकले ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्ने जिकिर गरे ।यस्तै जग्गा कारोबार पनि सहज हुने उनको भनाई थियो । आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दाबी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने ढुक्क हुन आग्रह गरे ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले पार्टी बैठकमा एउटा कुरा गर्ने अनि बाहिर आएर अर्को हङ्गामा गर्ने भएकाले पार्टी सभापतिले बैठक लाइभ गर्ने निर्णय गरेको बताए । पार्टीको बैठक लाइभ गर्ने निर्णयले अहिले राम्रो भएको उनको भनाई थियो । तर सधैँ गर्ने नगर्न भन्ने बारे भने आवश्यकता अनुसार निर्णय गरिने उनले बताए ।