प्रशासन प्रमुख ‘आर्थिक लाभ’मा लाग्दा सहरीमा भद्रगोल

न्यूज समय

सहरी विकास मन्त्रालयका प्रशासन समुहका सहसचिव तथा प्रशासन महाशाखा प्रमुख प्रदीप परियारको अपरिपक्वताको कारण सहरी विकास मन्त्रालय भद्रोगाल अबस्थामा पुगेको छ ।
प्राविधिक र विकासे मन्त्रालयको रुपमा चिनिएको सहरीमा प्रशासन समुहका परियार हावी हुन खोजेका छन्, यसबाट प्राविधिक समुहका सहसचिवहरू निरुत्साहित भएका छन् ।
३५ जना सहसचिवको दरबन्दी रहको सहरीमा २ वटा विभाग (सहरी विकास तथा भवन विभाग र स्थानीय पूर्वाधार विभाग) तथा ९ वटा निकाय छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर विकास कोष, राष्ट्रिय आवास कम्पनी, अन्तराष्ट्रिय सम्मेलन केन्द्र लगायत ९ वटा निकाय मन्त्रालयकै मातहत छन् । यी निकायलाई प्रभावकारी रुपमा काम गराउन मन्त्रालयमा प्रशासन हेर्ने सहसचिव अनुभवि चाहिन्छ तर परियारमा प्रशासन क्षेत्रमा अनुभवको कमी भएको बताइन्छ ।
मन्त्रालय स्रोतले भन्यो, ‘अहिले सहरीमा प्रशासन समुहका सहसचिवको काम भनेको कार्यकक्षमा सिसिटिभीको मोनिटर अगाडि बस्ने, मन्त्रालयमा कुन व्यक्ति आयो, कुन आएन, कसले कसलाई भेट्यो, कसले आफूलाई भेट्न मानेन, को भेट्न आयो, यस्ता विषयमा सिसिटिभी हेरेर दिन बिताउने गर्छन ।
मन्त्रालय तथा मन्त्रालय मातहतका निकायहरूमा संगठन तथा व्यबस्थापन (ओएनएम) तथा विभिन्न समितिका संयोजक भइ गरेका कामहरु सम्पन्न गर्नुको सट्टा काँहा कसलाइ सरुवा गराउदा आफूलाई फाइदा हुने गर्छ त्यसमा मात्र ध्यान केन्द्रित गर्ने गरेको आरोप परियारमाथि लागेको छ ।
यसबाट मन्त्रालयले गर्नु पर्ने महत्वपूर्ण कामहरु ओझेलमा पर्ने गरेका छन् । स्रोतले भन्यो, मन्त्रालयको काम गर्न परियारको ध्यान जान्न ।
केही हप्ता अगाडि मन्त्रालयका ४ जना वरिष्ठ सहसचिवहरूलाई ४ महिनाको तलब नै नदिदा परियारले निकै गाली खाएका थिए । मन्त्रालयका एक कर्मचारी भन्छन, ‘सानोतिनो कुरामा प्रतिसोध साध्ने बानी भएका परियार यती ठूलो मन्त्रालयमा प्रशासनको जिम्मेवारी चलाउन उपयुक्त व्यक्ति होइनन । यसकारण मन्त्रालय भद्रगोल अवस्थामा पुगेको छ ।’
परियारमाथि सहरी विकास मन्त्रीको पिएसँग नजिक भएर मन्त्रालय मातहतका कर्मचारीहरूसँग आर्थिक लाभ लिइ सरुवाको फायल उठाउने गरेको आरोप लाग्ने गरेको छ ।
पुुर्ब मुख्यसचिव शंकरदास बैरागी एउटै गाँउको भएको नाता जोडेर बैरागीको पालामा परियार पहुँचवाला मानिन्थे । स्रोत भन्छ, बैरागीको आडभरोसामा परियारले आफूलाई मन नपरेका कर्मचारीहरु मन्त्रालयबाट सरुवा गराउथे । त अहिले उनको शक्तिमा धमिरा लागेको मन्त्रालयका कर्मचारीहरु बताउछन् ।
परियार २०७९ असार सहरी विकास मन्त्रालयमा सरुवा भइ आएका हुन् ।
मन्त्रालयका अर्का एक कर्मचारी भन्छन, ‘परियार मन्त्रालयबाट अन्य कार्यालयमा सरुवा भएमा मन्त्रालयको काम कारबाही प्रभावकारी मात्र हुने थिएन, मन्त्रालयले देखिने गरी परिणाम देखाउन सक्थ्यो ।’