नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् । सभापति शेरबहादुर देउवानिकट कास्की सभापति बराल जिल्ला समितिमा अल्पमतमा छन् । उनलाई सभापतिबाट हटाउन हस्ताक्षर अभियान सुरू भइसकेको कास्कीका एक नेताले बताए ।
उनले भने–‘ उहाँले पार्टी चलाउन सक्नुहुन्न । नयाँ मान्छे चाहिन्छ । अविश्वासको प्रस्ताव ल्याउने तयारी भैरहेको छ ।’ स्थानीय निर्वाचनको समीक्षा गर्न आयोजना गरिएको जिल्ला कार्यसमितिको बैठकसमेत अधिकांश पदाधिकारी र सदस्यले बहिष्कार गरेका छन् । उपसभापति युवराज कुँवरले होटलमा राखिएको बैठकमा सहभागी नहुने बताए ।
पदाधिकारी र सदस्य उठेर हिँडेपछि बैठक ११ गतेका लागि स्थगित भएको छ । बैठकमा १८ जना अनुपस्थित थिए भने आएकाले समेत उपस्थितिमा हस्ताक्षर गरेका छैनन् । सभापति बरालले भने गणपुरक संख्या नपुगेका कारण बैठक स्थगित गरिएको बताए । उनले भने–‘साथीहरू कामको व्यस्तताले आउन भ्याउनुभएन । सहमतिमै अर्को दिन बैठक बसौं भनेर उठेको हो । बाहिर के प्रचार भयो थाहा छैन । बैठकका बेला कुनै नराम्रो कुरा चलेको थिएन ।’
न्यूज समय
६ असार, २०७९, सोमबार ००:००