काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलमा तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने आश्वासन दिएका छन् । उपमेयर सुनिता डंगोल सहित सिसडोलको अवलोकनमा पुगेको नगरप्रमुख साहले स्थानीयको समस्या र गुनासा सुनेपछि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने बताएका हुन् ।
उनले भने– ‘केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्छ । ‘एक हप्तामा गन्ध नआउने बनाउन सकिन्छ । हाल्नलाई यहाँ केमिकल आउनुपर्यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन नि ।’ उनले फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि सुनाए । यी सबै काम गर्न तीन–चार महिना लाग्नसक्ने उनले बताए ।
उनले सड्ने र नसड्ने फोहोर छुट्टयाएर विसर्जन गर्ने व्यवस्था मिलाउने र त्यसका लागि जनचेतना जगाउने काम गर्ने पनि बताए । स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरूले आफूहरुले स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्यो भनेर माग गर्दै प्रहरी प्रशासन लगाएर दमन गरिएको गुनासो गरेका थिए । मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भएकाले फोहोर वा स्थानीयको उचित व्यवस्थापन हुनुपर्ने माग उनीहरुले राखेका थिए ।
न्यूज समय
२० जेष्ठ, २०७९, शुक्रबार ००:००