स्थानीय निर्वाचनको तालमेलको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक आज मंगलबार पनि बस्दै छ। यही वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा सत्तारूढ गठबन्धनले भने चुनावी तालमेल गरेर उमेदवार उठाउने सहमति गरेको छ।
महानगरपालिका र उपमहानगरपालिकाको विषयमा निर्णय गर्न सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज पुनः छलफलमा जुट्न लागेका हुन्। स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका दलहरुलाई महानगर र उपमहानगरको भागबन्डा मिलाउन सकस भइरहेको छ।
सोमबार दिनभर छलफलमा जुटे पनि दलहरुबीच सहमति हुन सकेन। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजे सुरु हुनेछ। हिजोको बैठक सहमति नजिक पुगेको र आज अन्तिम रुप दिइने कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
६ वटा महानगर मध्ये ५ वटामा लगभग सहमति भइसकेको नेताहरुको दाबी छ। तर, पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले आफ्नो दाबी नछोडेका कारण सहमति हुन सकेको छैन। एकीकृत समाजवादीले तालमेल गरेर जाने निर्णय भइसकेपछि पोखरा महानगरपालिकाको प्रमुख आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ।
उता नेपाली कांग्रेसले भने पोखरा आफ्नो पार्टीले नै पाउनुपर्ने दाबी गरिरहेको छ। सोमबारको बैठकमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडासमेतको वस्तुगत स्थितिबारे छलफल भएको बताउँदै उनले मंगलबार त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको जानकारी दिए।
न्यूज समय
६ बैशाख, २०७९, मंगलबार ००:००