१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ । नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको हो ।

दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जनाएको छ । चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।

दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो । यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ । सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए ।

अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो । सगरमाथाको उचाइमा परिवर्तन आएको हुन सक्ने अनुमान गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*