आज देखि सुरु भयो दशौँ राष्ट्रिय खेलकुदका खेलहरू

न्यूज समय

दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आज देखि सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा देखि सुरु भएको छ । औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि केही खेल भने आजदेखि नै सुरु हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।

आजदेखि सुरु गरिने पाँच खेलहरुमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी रहेको पनि राखेपले जनाएको छ ।

राखेपले सार्वजनिक गरेको तालिकाअनुसार कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमै केन्द्रित भएर खेलिने छन् । बाँकी नौ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र रुकुम पश्चिम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने छन् ।

राखेपका अनुसार दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने छन् । प्रतियोगिताका ३८४ इभेन्ट्समा कूल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

मङ्सिर २७ गते सम्म सञ्चालन हुने खेलको यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
खेलको सबै तयारी पूरा भइसकेको र विभिन्न प्रतियोगितामा सहभागी खेलाडी यतिवेला सुर्खेत पुगिसकेका बताईएको छ ।