भारतीय सिमा क्षेत्रमा सशस्त्रको कडाई, १५ लाख २८ हजार बराबरको अवैध सामान बरामद

न्यूज समय

सशस्त्र प्रहरी बल पर्साले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेका १५ लाख २८ हजार बराबरको विभिन्न सामान बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१६ भुटनदेवी मन्दिरस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको नौ लाख २२ हजार ५०० बराबरको औषधि नियन्त्रणमा लिएको छ ।

त्यस्तै हेडक्वाटर पर्साबाट खटिएको अर्को टोलीले तीन लाख दुई हजार ९६० बराबरको मोटरसाइकलसहित तरकारी वीरगञ्ज–१६ बाट नियन्त्रणमा दिएको छ ।

त्यस्तै इनर्वा सीमा इलाकाबाट एक लाख ७७ हजार ८६० बराबरको कपडा तथा जुत्ता, पर्साकै जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरचोकमा एक लाख २५ हजार १०० बराबरको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका सवै सामान आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।