शर्मिला डिसी
भाद्र शुक्ल तृतिया अर्थात हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज हर्ष उल्लासका साथ मनाईदै आएको पर्वका रुपमा परिचित छ । विषेश गरी हिन्दु महिला संग जोडिएको यस पर्व तीज महिलाहरुको महत्वपूर्ण र ठुलो पर्व मानिन्छ । दिदी वहिनीहरुले एक अर्काको सुख दुःख साटासाट गर्ने र नाचगान गरी रमाईलो गर्ने दिनका रुपमा परिचित यो दिनलाई महिला स्वतन्त्रताको पर्वका रुपमा पनि व्याख्या गर्ने गरिन्छ ।
आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । तीज नेपाली नारीहरुको भावना, आत्मवल, सहनशिलता र परम्परा प्रतिको निष्ठाको प्रतिकको रुपमा पनि लिने गरिन्छ । यसले समाजमा आपसी सद्धभाव, भाईचारा, र संस्कृतीको जगेर्ना गर्न महत्वपूर्ण भुमिका खेल्दै अएको छ ।
हिन्दू नारीहरुले यस दिनलाई उत्सवका रुपमा मनाउनुका साथै एकअर्कामा रमाईलो साट्ने, मिठो मसिनो खाने, राम्रो लगाउने, नाचगान गर्ने दिनको रुपमा लिने गर्दछन् । धार्मिक ग्रन्थ अनुसार सत्ययुगमा राजा हिमालयकी पुत्री पार्वती र भगवान शिवकोे मिलन तथा प्रेमको प्रतिकको रुपमा यस पर्वलाई मनाउदै आईएको धार्मिक विश्वास छ । भाद्र शुक्ल द्धितिया देखी पञ्चमी सम्म मनाईने यसपर्वको आफ्नै महत्व रहिआएको छ ।
यस पर्वमा व्रत वसी शिवको आराधना गरेमा मनले चिताएको कुरा पुरा हुने धर्म ग्रन्थमा उल्लेख भएको पाईन्छ । यस कारण विवाहित महिलाहरु पतिको सुस्वास्थ्य तथा दिर्घायुको कामनाका लागि विहानै उठी नुहाईधुवाई गरी शुद्ध रातो वस्त्र धारण गरेर निराहार व्रत वसी भगवान शिवको पुजा आरधना गर्ने गर्दछन्, भने अविवाहित नारी सुयोग्य वर प्राप्तीको कामना सहित व्रत वस्ने गर्दछन् । कतिपय अवस्थामा सके निरहार नसकेमा जलाहार र फलाहार गरेर भए पनि तीजमा व्रत वस्ने गरेको पनि पाईन्छ । व्रत वस्ने र खाने मात्र नभई यस पर्वमा गायिने गीत र नाचगानको पनि वेग्लै महत्व छ । रमाईला र हास्यव्यंग्य गीत संगित भन्दा दुःखले भरिएका नारी वेदना सहितको मौलिक गीत संगितले अझ वढी मन छुने गर्दछन् ।
माईत गएर होस् वा घरमै रहेर होस् कोमल हृदयका नारीले आफ्ना भावना, पारिवारीक सम्वन्ध र मौलिकतालाई तीजको दिन अर्थात (आज) नाचेरै रमाएरै पोख्ने भएकाले पनि महिलाकालागि यो दिन विशिष्ट प्रकारको मानिएको हो ।
तीजको अघिल्लो दिन माइतीघर वा आफन्त कहाँ जम्मा भएर मिठा परिकार ढाकनी, खिर, सेलरोटी, तरकारी, अचार, फलफुल लगाएतका परिकार वनाइ दर खाने चलन छ । मध्यरात १२ वजे अघि खाने परिकार जसलाई दर खाने पनि भन्ने गरिन्छ । भोलिपल्ट दिनभर पानीसम्म नपिई ब्रत बस्नु पर्ने भएकाले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन छ । आमा हजुर आमाले भाले बास्नु भन्दा अघि सम्म पनि उठेर दर खानुपर्छ भन्ने सुनेको भए पनि खानपिनमा शरिर र स्वास्थ्यलाई पनि ध्यान दिन उत्तिकै जरुरी छ ।
महिलाहरुलाई पराईघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माईतीको सम्झनालाई कमगर्न यो पर्वको ठुलो मूमिका रहेको छ । यस दिन रातै कपडामा सजिएर महिलाहरु नजिक रहेको शिव मन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाईलो गर्ने गर्दछन् ।
विकृती :
पछिल्लो समय पर्व मनाउने नाममा विभिन्न विकृती विसंगती भित्रिन थालेका छन् । त्यस्ता विकृतीले पर्वको मौलिकता, मर्म र महत्व माथि नै नकारात्मक असर पर्न थालेको देखिन्छ । दर खाने वा तीज मनाउने नाममा महंगा पार्टि प्यालेसमा महिनौं अगाडी देखी तडकभडक गर्ने, देखासिकीका लागि महंगा कपडा र गरगहना प्रदर्शन गर्ने प्रवृती अत्यधिक वढेको छ । अर्कोतर्फ परम्परागत रुपमा महिलाका वेदना संघर्ष र माईती प्रती छोरी चेलीको मायाँ झल्काउने मौलिक तीज गीतको सट्टा छाडा अर्थहिन गीतमा नाचगान गर्ने प्रचलन पनि उस्तै वढेको छ । यसले अघिल्लो पुस्ताको योगदान र परम्परागत मौलिकतालाई मास्ने खालेको भएको पनि आरोप लाग्दै आएको छ । गीत संगित र पर्वका नाममा गरिने ताम झाम र आधुनिकताका नाममा देखाउन खोज्ने तडक भडकले पक्कै विकृतिलाई प्रसय दिने वाहेक कुनै ठुलो उपलव्धी देखिदैन् । मौलिकताको संरक्षण गर्दै आफ्नो क्षमता र गक्ष अनुसार चाडपर्व मनाउन आजको आवश्यकता बन्दै गएको छ ।
प्राकृतिक विपद् शोकमा देश :
हिन्दुहरुको चाडपर्व घर दैलोमा भित्रिरहेका वेला मुलुकमा बज्रपात परेको छ । तीजको संघारमै गएको १० गते भोटेकोशी नदीमा आएको विनाशकारी वाढीका कारण ठुलो धन जनको क्षति भएको छ । परिवार संग संगै बसेर रमाईलो गर्ने, दुःख सुख साट्नेवेला आएको विपत्तिले आम नेपालीको मन रोईरहेको छ । कल्पना पनि गर्न नसकिने यस विपत्का कारण हजारौ नागरिकको ज्यान गुमेको छ, भने कति वेपत्ता त कैयौको उद्धार गरीएको छ ।
हाम्रा घरमा चाडपर्व मनाई रहँदा अन्य घरमा के भइरहेको छ भन्ने जानकारी लिनु हामी नेपालीको दायित्व वनेको छ । आफ्नो चाडपर्व वा अन्य खर्चलाई थोरै भए पनि कटौति गरेर घरपरिवार विहिन नागरिकको त्यो पिडामा हात र साथ दिनु हामी सवैको कर्तव्य बनेको छ । प्राकृतिक विपद् र संस्कृतीको उत्सव हाम्रा चाडपर्वहरु संगसगै आउदा मानिसको जीवनमा दुःख सुख संगसंगै घुमि रहन्छ भन्ने वास्तविकता प्रस्ट भएको छ । यस्तो विषम परिस्थितीका वीच हामी नेपाली नारीहरुले संयमता अपनाएर एकअर्काको पीडामा साथ दिएर आफ्नो मौलिक संस्कृती र परम्परालाई जगेर्ना गर्नु पर्ने आजको आवश्यकता बनेको छ ।
यस्ता चाडर्वले समाजमा सामाजिक सद्धभाव र एकताको पाठ सिकाउने हँुदा हाम्रा पर्वहरु आफैमा महत्वपूर्ण र विशिष्ठ मानिन्छन् । हरेक बर्ष आउने यस्ता चाडपर्वले टाढाटाढा रहेका परिवारका सदस्यहरुलाई एउटै जन्म घरमा ल्याई आपसी सम्वन्ध अझ प्रगाढ र सुमधुर बनाउने हुँदा पनि हाम्रा चाडपर्वको बेग्लै महत्व रहदै आएको छ ।
त्यसैले यो विपत्तिमा म पनि सहयोग गर्छु भन्ने भावनालाई अत्मसाथ गर्दै घाँटी हेरी हाड निलौ भन्ने उक्तिलाई मनन् गर्दै हाँसीखुशी तीज पर्व मनाऔं । सवै नेपाली आमा दिदि वहिनीहरुमा हरितालिका तीजको शुभकामना ।।


न्यूज समय
२९ भदौ, २०८३, सोमबार ११:५०