प्रवासमा रहेर पनि मातृभूमिको लोकतान्त्रिक चेतना, राष्ट्रिय जिम्मेवारी र नेपाली कांग्रेसको विचारधाराप्रति अटुट आस्था कायम राख्ने उद्देश्यले गठन भएका जनसम्पर्क समितिहरू नेपाली राजनीतिक इतिहासका महत्वपूर्ण अध्याय हुन् । जनसम्पर्क समिति गठनको सुरुवात भारत बाट भएको थियो । अहिले अधिकांश मुलुकमा जनसम्पर्क समिति छन् । यीनैमध्ये नेपाली जनसम्पर्क समिति जापान एउटा सक्रिय, समर्पित र गौरवपूर्ण इतिहास बोकेको संस्था हो । जापानमा रहेका नेपाली कांग्रेसप्रति आस्था राख्ने नेपालीहरूलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा जोड्दै आएको यस संस्थाले विगत दुई दशकभन्दा लामो अवधिमा प्रवासबाट लोकतन्त्र, संगठन र मातृभूमिप्रतिको उत्तरदायित्वलाई सशक्त रूपमा अभिव्यक्त गर्दै आएको छ ।
यही ऐतिहासिक यात्राको निरन्तरतामा २०२६ जुलाई ५ मा टोकियोको शिबुयामा सम्पन्न हुन गइरहेको सातौँ अधिवेशनले नेपाली जनसम्पर्क समिति जापानको विगतलाई सम्मान गर्ने, वर्तमानको समीक्षा गर्ने र भविष्यको मार्गचित्र तय गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । यस सन्दर्भमा संस्थाको स्थापना, नेतृत्वको क्रम, योगदान, वर्तमान भूमिका र भावी दिशाबारे विचार गर्नु समयसापेक्ष र आवश्यक छ ।
स्थापनाको पृष्ठभूमि :
नेपाली जनसम्पर्क समिति जापानको स्थापना जापानमा रहेका नेपाली कांग्रेस समर्थकहरू सन २००० मा टोकियोको उएनो पार्कमा भेला भएर गरेका हुन् । जापानमा रहेका नेपाली कांग्रेस समर्थकहरूलाई एउटै वैचारिक र संगठनात्मक छातामुनि ल्याउने, लोकतान्त्रिक मूल्य–मान्यता, संविधानवाद, राष्ट्रिय उत्तरदायित्व र नेपाली कांग्रेसको विचारलाई प्रवासमा सशक्त रूपमा स्थापित गर्ने उद्देश्यले यसको जन्म भएको हो ।
यस संस्थाका संस्थापक अध्यक्ष आदरणीय विश्वनाथ शर्मा हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा सुरु भएको यो अभियानले समयक्रमसँगै विस्तार, संघर्ष, निरन्तरता र सुदृढीकरणको यात्रा तय गर्दै आज सातौँ अधिवेशनसम्मको ऐतिहासिक चरणसम्म आएको छ । एउटा पार्कमा सुरु भएको त्यो वैचारिक जमघट आज जापानस्थित नेपाली कांग्रेस समर्थकहरूको साझा आस्था, संगठन र प्रतिबद्धताको प्रतीक बनेको छ ।
नेतृत्वको क्रम : समर्पण, निरन्तरता र संगठन निर्माणको इतिहास
कुनै पनि संस्थाको उचाइ त्यसलाई समय–समयमा नेतृत्व गर्ने व्यक्तित्वहरूको दृष्टि, श्रम, त्याग र संगठनप्रतिको निष्ठामा निर्भर हुन्छ । नेपाली जनसम्पर्क समिति जापानको यात्रा पनि त्यही समर्पणको श्रृंखलाबाट बनेको हुन्छ । संस्थापक अध्यक्ष विश्वनाथ शर्मापछि क्रमशःस्व .राम बहादुर पौडेल, महेस कुमार श्रेष्ठ,कृष्ण प्रसाद सुबेदी,बलराम श्रेष्ठ,भुपीगोबिन्द श्रेष्ठ,नारायण प्रसाद सुबेदी,डिपी कडेल र हाल रोशन केसीले संगठनको नेतृत्व गरिरहनुभएको छ । सबै आदरणीय नेतृत्वहरूले आफ्नो कार्यकालमा संगठनलाई सुदृढ बनाउने, सदस्यता विस्तार गर्ने, नेता कार्यकर्ताहरूलाई एकताबद्ध गर्ने, प्रवासमा नेपाली कांग्रेसको विचार र उपस्थितिलाई मजबुत बनाउने तथा जापानस्थित नेपाली समुदायलाई लोकतान्त्रिक चेतना र राष्ट्रिय सरोकारका मुद्दासँग जोड्ने कार्यमा उल्लेखनीय योगदान पु¥याउनुभएको छ । यो संस्था कुनै एक व्यक्तिको प्रयासको परिणाम मात्र होइन; यो अनेकौं अग्रज, कार्यकर्ता, शुभेच्छुक र समर्पित नेतृत्वहरूको साझा संघर्ष र समर्पणको जीवित इतिहास हो ।
जनसम्पर्क समिति जापानको भूमिका
नेपाली जनसम्पर्क समिति जापानलाई केवल एउटा प्रवासी राजनीतिक संगठनका रूपमा बुझ्नु पर्याप्त हुँदैन । यसको भूमिका अझ व्यापक छ । यसले जापानमा रहेका नेपाली कांग्रेस समर्थकहरूको साझा मञ्चका रूपमा काम गर्दै आएको छ, जहाँ राजनीतिक आस्था, संगठनात्मक एकता, मातृभूमिप्रतिको जिम्मेवारी र प्रवासी नेपालीका साझा सरोकार एकसाथ अभिव्यक्त हुन्छन् । नेपालसँगको आफ्नो लगाव हरेक प्राकृतिका विपत्तीहरू जस्तो भुकम्प, बाढी पहिरोका बेलामा आफ्नो मातृभूमीका नागरिकको पिडामा जनसम्पर्क समिति जापान जोडिरहेको छ ।
नेपाली कांग्रेसको विचार, नीति, लोकतान्त्रिक समाजवाद र संवैधानिक मूल्यमान्यताप्रति प्रवासी नेपालीलाई सचेत र संगठित बनाउने, जापानमा रहेका नेपाली कांग्रेस समर्थकहरूलाई साझा मंचमा जोड्दै संगठन विस्तार र सुदृढीकरणमा भूमिका खेल्ने, नेपालमा लोकतन्त्र, संविधान, राष्ट्रिय एकता र नागरिक अधिकारका पक्षमा प्रवासबाट ऐक्यबद्ध आवाज उठाउने, संकट, विपद् वा राष्ट्रिय महत्वका विषयमा मातृभूमिप्रति ऐक्यबद्धता, सहयोग र जिम्मेवारी प्रकट गर्ने,जापानमा रहेका नेपाली समुदायका विविध समस्या, आवश्यकता र सरोकारका विषयमा साथ, समन्वय र सहयोगको वातावरण निर्माण गर्ने,नयाँ पुस्ता, विद्यार्थी, व्यवसायी, श्रमिक र पेशाकर्मीलाई वैचारिक रूपमा जोड्दै संगठनको भावी आधार तयार विषयमा नेपाली जनसम्पर्क समिति जापानले विगत वर्षहरूमा महत्वपूर्ण भूमिकाहरू निर्वाह गर्दै आएको छ । यसरी हेर्दा, नेपाली जनसम्पर्क समिति जापान प्रवासमा नेपाली कांग्रेसको संगठनात्मक उपस्थिति मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय भावना र प्रवासी उत्तरदायित्वको सशक्त अभिव्यक्ति हो ।
सातौँ अधिवेशन : समीक्षा, पुनर्संरचना र भविष्यको संकल्प
२०२६ जुलाई ५ मा टोकियोको शिबुयामा आयोजना हुन गइरहेको सातौँ अधिवेशन नेपाली जनसम्पर्क समिति जापानका लागि एउटा नियमित संगठनात्मक कार्यक्रम मात्र होइन, यो संस्थाको विगतको मूल्यांकन, वर्तमानको समीक्षा र भविष्यको कार्यदिशा तय गर्ने ऐतिहासिक अवसर हो । संघ संस्थाका अधिवेशन लोकतन्त्रमा उत्सव हुन् । यसले नेतृत्व चयन गर्ने मात्र होइन संगठनको आत्मा, उद्देश्य र आगामी यात्राको मार्गचित्र पनि निर्धारण गर्छ । सातौँ अधिवेशनले विशेषत ः निम्न प्रश्नहरूमा स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुपर्ने अपेक्षा गरिएको छ—
संगठनलाई अझ समावेशी, सशक्त र सक्रिय कसरी बनाउने ?
जापानका विभिन्न क्षेत्रहरूमा रहेका नेपाली कांग्रेस समर्थकहरूलाई अझ प्रभावकारी रूपमा कसरी जोड्ने ?
नयाँ पुस्ता, विद्यार्थी, महिला, श्रमिक र पेशाकर्मीको सहभागिता कसरी विस्तार गर्ने ?
प्रवासी नेपालीका हकहित, समस्या र सरोकारका विषयमा संगठनको भूमिका कसरी अझ सार्थक बनाउने ?
नेपाली कांग्रेसको विचार, नीति र लोकतान्त्रिक मूल्यलाई जापानमा अझ व्यवस्थित रूपमा कसरी प्रवाह गर्ने?नवितम ,उर्जाशिल नेतृत्वको जग लाई अझै प्रवास बाट कसरी बलियो बनाउने ?
यी प्रश्नहरूको उत्तर खोज्दै सातौँ अधिवेशनले केवल नयाँ कार्यसमिति चयनमा सीमित नभई संगठनलाई नयाँ ऊर्जा, स्पष्ट कार्यदिशा र सुदृढ एकताको संकल्प दिन सक्नुपर्छ ।
नेपाली कांग्रेसको नयाँ नेतृत्व र प्रवासी नेपालीको अपेक्षा
नेपाली जनसम्पर्क समिति जापानको सातौँ अधिवेशनको सन्दर्भ केवल संगठनको आन्तरिक पुनर्संरचनासँग मात्र जोडिएको छैन, यो नेपालमा नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व रूपान्तरण, पुस्तान्तरण र नयाँ राजनीतिक आशासँग पनि गहिरो रूपमा जोडिएको छ । नेपाली कांग्रेसको नयाँ नेतृत्वमा सभापति गगनकुमार थापाको आगमनसंगै विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेजस्ता नयाँ पुस्ताका नेताहरूको आगमनले देशभित्र मात्र होइन, प्रवासमा रहेका नेपाली कांग्रेस समर्थकहरूमा पनि नयाँ आशा र अपेक्षाको वातावरण सिर्जना गरेको छ । जनवरी २०२६ मा सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित हुनुभयो । विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापतिमा तथा प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्रीमा निर्वाचित हुनुभयो । यसले प्रवासमा बस्ने नेपालीहरूको अपेक्षा केवल अनुहार परिवर्तनमा सीमित छैन, उनीहरू कार्यशैली, प्राथमिकता, संवाद संस्कार र संगठन सञ्चालनको नयाँ ढाँचा हेर्न चाहन्छन्। नयाँ नेतृत्वबाट प्रवासी नेपालीले विशेषतः यस्तो अपेक्षा राखेका छन् कि नेपाली कांग्रेस अब अझ युवा–मैत्री, प्रविधिमैत्री, विचारमा स्पष्ट, संगठनमा अनुशासित र नागरिकका दैनिक सरोकारमा उत्तरदायी बन्न सकोस्। प्रवासमा रहेका नेपालीहरू पार्टीका वैचारिक समर्थक मात्र होइनन्; उनीहरू नेपालप्रति आर्थिक, सामाजिक, बौद्धिक र भावनात्मक रूपमा गहिरो रूपमा जोडिएका समुदाय पनि हुन् । त्यसैले उनीहरूको अपेक्षा छ—नेपाली कांग्रेसले प्रवासलाई केवल चुनावी वा औपचारिक समर्थनको स्रोतका रूपमा होइन, राष्ट्र निर्माणको साझेदार शक्तिका रूपमा हेर्नेछ ।
विशेषतः जापानजस्ता देशमा बस्ने नेपालीहरूको चाहना के हो भने नयाँ नेतृत्वले प्रवासी नेपालीका सवाललाई पार्टीको औपचारिक विमर्शभित्र सम्मानजनक स्थान देओस् । वैदेशिक रोजगारी, विद्यार्थी जीवन, श्रम अधिकार, सामाजिक सुरक्षा, दूतावास सेवाको पहुँच, नेपालमा लगानीको वातावरण, स्वदेश फर्किएपछि पुनःस्थापना, र विदेशमा आर्जित सीप–पूँजीलाई मातृभूमिको विकाससँग कसरी जोड्ने भन्ने विषयलाई अब नेपाली कांग्रेसले नीतिगत तहमा बहसको विषय बनाएर कार्यान्वयनको ग्यारेण्टी गर्छ भन्ने अपेक्षा छ । प्रवासमा रहेका नेपालीहरूका दुःख, संघर्ष, उपलब्धि र सम्भावनालाई पार्टीले सुन्ने, बुझ्ने र सम्बोधन गर्ने संस्थागत संयन्त्र बनोस् भन्ने चाहना पनि उत्तिकै बलियो छ ।
नयाँ नेतृत्वप्रति अर्को महत्वपूर्ण अपेक्षा भनेको जनसम्पर्क समितिहरूसँगको सम्बन्धलाई अझ व्यवस्थित, सम्मानजनक र परिणाममुखी बनाउनु हो । विश्वभर फैलिएका नेपाली जनसम्पर्क समितिहरूलाई केवल नाम मात्रका भ्रातृ वा शुभेच्छुक संरचना नभई नेपाली कांग्रेसको वैचारिक विस्तार, अन्तर्राष्ट्रिय विश्व सञ्जाल, नीति–संवाद र जनसमर्थनको महत्त्वपूर्ण आधारका रूपमा स्थापित गरिनुपर्छ ।
त्यसका लागि जनसम्पर्क समितिहरूको भूमिका, समन्वय, प्रशिक्षण, प्रतिनिधित्व र जिम्मेवारीका विषयमा स्पष्ट दृष्टिकोण आवश्यक छ । नेपाली जनसम्पर्क समिति जापानजस्ता संस्थाहरूले पनि यही आशा राखेका छन् कि पार्टी नेतृत्वले प्रवासलाई सुन्ने, जोड्ने र सशक्त बनाउने संस्कारलाई संस्थागत रूप दिनेछ ।
यसका साथै, प्रवासी नेपालीको एउटा ठूलो अपेक्षा विश्वासको पुनर्निर्माणसँग सम्बन्धित छ । नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक इतिहासको विशाल विरासत बोकेको दल हो,तर बदलिँदो समाज, युवापुस्ताको आकांक्षा र जनताका तात्कालिक सरोकारसँग तालमेल राख्नुपर्ने चुनौती उसको अगाडि अझै उभिएको छ । यस्तो अवस्थामा गगनकुमार थापालगायतको नयाँ नेतृत्वले पार्टीलाई केवल विरासतको बलमा होइन, कार्यसम्पादन, नीतिगत स्पष्टता, सुशासनप्रतिको प्रतिबद्धता, आन्तरिक लोकतन्त्र र सार्वजनिक विश्वासका आधारमा अघि बढाउनुपर्ने अपेक्षा गरिएको छ । प्रवासमा रहेका नेपालीहरू पनि यही चाहन्छन्, —नेपाली कांग्रेस फेरि एकपटक आशा, भरोसा र परिवर्तनको केन्द्र बनोस् लोकतन्त्र मियो बनिरहोस ।
त्यसैले नेपाली जनसम्पर्क समिति जापानको सातौँ अधिवेशनले आफ्नै संगठनात्मक कार्यसूचीमा सीमित नरही, नेपाली कांग्रेसको नयाँ नेतृत्वसँग सार्थक सहकार्य, रचनात्मक सुझाव र प्रवासी नेपालीका साझा अपेक्षाको स्पष्ट सन्देश पनि पठाउन सक्नुपर्छ तेही अनुरुपको सामुहिक नेतृत्व निमार्ण गरि अघि बढनु पर्ने छ ।
इतिहासले निर्माण गरेको यो सम्बन्ध अब नयाँ पुस्ताको दृष्टि, आधुनिक संगठनात्मक सोच र मातृभूमिप्रतिको साझा प्रतिबद्धतासँग जोडिँदै अघि बढोस यही आजको समयको माग हो ।
अधिवेशनका प्रमुख अपेक्षाहरू :
जापानका विभिन्न प्रिफेक्चर, शहर र कार्यक्षेत्रमा रहेका नेपाली कांग्रेस समर्थकहरूलाई व्यवस्थित रूपमा जोड्ने, सदस्यता विस्तार गर्ने, क्षेत्रीय संरचना सुदृढ गर्ने र संगठनलाई क्रियाशील बनाउने स्पष्ट खाका आवश्यक छ। संगठनको शक्ति कागजमा होइन, कार्यकर्ता, गतिविधि, अनुशासन र निरन्तरतामा देखिनुपर्छ ।
नयाँ पुस्ताको आकर्षण र सहभागिता
आजको प्रवासी नेपाली समाजमा युवा पुस्ताको भूमिका निर्णायक छ। विद्यार्थी, युवा श्रमिक, पेशाकर्मी र व्यवसायीहरूलाई संगठनसँग जोड्ने वातावरण निर्माण गर्नु सातौँ अधिवेशनको प्राथमिक एजेन्डा बन्नुपर्छ। नयाँ पुस्ता जोडिएन भने संगठनको भविष्य कमजोर हुन्छ; नयाँ पुस्ता जोडियो भने संगठनको सम्भावना अनन्त हुन्छ ।
वैचारिक स्पष्टता र राजनीतिक प्रशिक्षण
जनसम्पर्क समिति केवल चुनावी संरचना मात्र होइन, विचारको विद्यालय पनि हो । नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक समाजवाद, संवैधानिक मूल्य, राष्ट्रिय एकता, समावेशी लोकतन्त्र र समकालीन राजनीतिक चुनौतीबारे कार्यकर्तामाझ नियमित संवाद, प्रशिक्षण र अध्ययनको वातावरण बनाउन आवश्यक छ ।
प्रवासी नेपालीका हकहितमा संवेदनशील भूमिका
जापानमा रहेका नेपालीहरूले भिसा, श्रम, भाषा, शिक्षा, कानुनी प्रक्रिया, सामाजिक सुरक्षा, दुर्घटना, स्वास्थ्य र आकस्मिक समस्यासँग जुध्नुपर्ने अवस्था रहँदै आएको छ। यस्तो अवस्थामा जनसम्पर्क समिति जापान सिर्फ राजनीतिक पहिचानको संस्था नभई प्रवासी नेपालीको सुख–दुःखमा साथ दिने संवेदनशील र जिम्मेवार संगठन बन्न सक्नुपर्छ।
एकता, सहमति र लोकतान्त्रिक संस्कार
अधिवेशनमा प्रतिस्पर्धा स्वाभाविक हो; तर प्रतिस्पर्धा विभाजनको कारण बन्नु हुँदैन। लोकतन्त्रको सुन्दरता बहस, मतभेद र प्रतिस्पर्धामा भए पनि संगठनको शक्ति एकता, सम्मान र सहकार्यमा निहित हुन्छ । मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन ।
व्यक्तिगत आकांक्षा भन्दा संगठनको हित, पद भन्दा उद्देश्य, र गुटभन्दा विचारलाई प्राथमिकता दिने संस्कार सातौँ अधिवेशनको प्रमुख सन्देश बन्नुपर्छ ।
इतिहासप्रति सम्मान, भविष्यप्रति प्रतिबद्धता
यो ऐतिहासिक घडीमा नेपाली जनसम्पर्क समिति जापानले आफ्नो स्थापना कालदेखि अहिलेसम्म योगदान पु¥याउनुहुने सम्पूर्ण अग्रज, संस्थापक, पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, सदस्य, सल्लाहकार, शुभेच्छुक तथा समर्थकहरूप्रति हार्दिक सम्मान प्रकट गर्नुपर्छ । उहाँहरूको श्रम, समय, त्याग, समर्पण र वैचारिक निष्ठाले आजको यो अवस्था सम्भव भएको हो। इतिहासलाई सम्मान गर्ने संगठनले मात्र भविष्यलाई मजबुत बनाउन सक्छ । त्यसैले, सातौँ अधिवेशन केवल औपचारिकता नबनोस् । यो एकताको पुनःप्रतिबद्धता, संगठन सुदृढीकरणको स्पष्ट मार्गचित्र, नयाँ पुस्तालाई जोड्ने नयाँ सोच, प्रवासी नेपालीका हकहितप्रति दृढ संवेदनशीलता, र नेपाली कांग्रेसको विचारलाई जापानमा अझ सशक्त बनाउने सामूहिक संकल्पको आधार बनोस् ।
निष्कर्ष :
सन २००० मा टोकियोको उएनो पार्कबाट सुरु भएको नेपाली जनसम्पर्क समिति जापानको यात्रा आज टोकियोको शिबुयामा सम्पन्न हुन गइरहेको सातौँ अधिवेशनसम्म आइपुग्दा एउटा महत्वपूर्ण ऐतिहासिक मोडमा उभिएको छ। संस्थापक अध्यक्ष विश्वनाथ शर्मादेखि वर्तमान अध्यक्ष रोसन केसीसम्म आइपुग्दा यो संस्थाले अनुभव, संघर्ष, उपलब्धि, विश्वास र सम्भावनाको समृद्ध विरासत बोकेको छ । अब विगतको योगदानलाई सम्मान गर्ने, वर्तमानका चुनौतीलाई गम्भीरतापूर्वक बुझ्ने, र भविष्यका सम्भावनालाई दूरदृष्टिका साथ अँगाल्ने जनसम्पर्क समितिको आवश्यकता छ । सातौँ अधिवेशनले नेपाली जनसम्पर्क समिति जापानलाई अझ एकताबद्ध, गतिशील, वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सुदृढ र प्रवासी नेपालीको भावना नजिकको संस्थाका रूपमा अघि बढाउने विश्वासका साथ टुटेका मनहरु जोडिदै, आन्तरिक बिमती बेथेती लाई चिर्दै बिगतका कमीकमजोरी बाट शिक्षा लिदै यस ऐतिहासिक अधिवेशनलाई भावनात्मक रुपमा जापानका हरेक क्षेत्रमा बस्ने सदस्य र शुभेच्छुक सग जोडनु पर्ने छ ।पूर्ण सफलताको लागी सबैको शुभकामना सगै मिहनेत गर्नु पर्ने छ ।
(जमरकट्टेल नेपाली जनसम्पर्क समिती जापानका उपसभापति हुनुहुन्छ)


न्यूज समय
११ असार, २०८३, बिहीबार ००:००