हात्तीको आक्रमणबाट बारामा १ जनाको मृत्यु, राजमार्ग क्षेत्रबाट हात्ती भगाउन हात्ती सहितको टोली परिचालन

न्यूज समय

हात्तीको आक्रमणबाट बारामा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान करिव ८ बजेको समयमा ना ४ ख १८३० नम्बरको ट्रक चालकमाथि जंगली हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणका बेला ट्रकबाट हाम्फालेर भाग्न खोज्दा हात्तीको आक्रमणमा परी ट्रक चालक जितपुरसिमरा–१ का करिब ४० वर्षीय राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

गए राति देखि नै हात्तीले आतंक मच्चाएपछि पूर्वपश्चिम राजमार्गमा गुड्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैया– निजगढ सडकखण्डको पिलुवा र निजगढ क्षेत्र बीचमा जंगली हात्तीले आतंक मच्चाए पछि त्यस क्षेत्रमा आतंक मच्चाउने हात्ती धपाउनका लागि बारा र चितवनबाट समेत हात्ती सहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।