
✍ चन्द्रा न्यौपाने
रङ्गचङ्गी उमङ्गले किन आउँछन् यी चाड ?
यो चेलीलाई रुवाउन पीडाका माझ ।
चाडपर्व जति आउँछन् उति मन झसङ्ग,
छैन कत्ति रमाइलो मनै भरङ्ग ।
पूर्णिमाको रात पनि लाग्छ सधैं औंसी झैं,
एक पल पनि वर्षौँजस्तो लाग्छ सधैं ।
ढकमक्क परिवार सुन्दर फूल झैं,
मिहिनेती मौरीका आहा ! हुल झैं ।
उस्तै सुन्दर देखिने कमिला जुटे झैं,
तर आँसु सागर किन ? मूल फुटे झैं।
कति कुरा भन्न मिल्ने यो मनको वेदना,
कति कुरा उच्चारणै गर्न हुँदैन।
परिवारको हितका लागि यही नारी मेटिन्छे,
बुझ्नु छैन महत्त्व नीच देखिन्छे ।
सधैं शिर उचो राख्छे बिनाकारण झुक्दिन,
परिवारको दशा टार्न कहिल्यै चुक्दिन।
बाउबाट ठूलो गल्ती भए पनि घरमै,
उसलाई साथ सन्तानको जुनीभर नै।
स्वयंवरको औंठी सधैं यो सुन्दर हातमा,
जसले भरे सिन्दूर् उनै छैनन् साथमा।
बाउबाट आमामा जति घात गरे नि,
बाउ बचाउन आमा जति अघि सरे नि।
सन्तानका लागि आमा जति मरिमेटे नि,
मेटिएको प्रमाण जति भेटे नि।
आखिर् बाउलेई पाउने रैछ सन्तानको त्यो साथ,
पर्दाखेर आमालाई सधैंको घात।
ठूलो चोट ओठमा मुस्कान हरे ! कस्तो जिन्दगी ?
असह्य पीडाको बन्यो बन्धकी।
मनभरी वेदनाको ठूलो पोको भए नि,
पोको फुकाई पीडा धुने धोको रहे नि।
जिन्दगीको यात्रामा धेरै भेटें औतारी,
मनको वह बिसाउने छैन चौतारी।
जन्म : तनहूँ
हाल : टोखा नगरपालिका – ८,
जालपाचोक, काठमाडौं।
न्यूज समय
१० भाद्र, २०८२, मंगलबार ००:००