काठमाडौंको गोकर्णेश्वरमा बर्डफ्लु भेटियो, उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह

न्यूज समय

काठमाडौंको गोकर्णेश्वरमा बर्डफ्लु भेटिएको पुष्टि भएको छ । गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा बर्डफ्लु भेटिए पछि स्थानीय प्रशासनले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

नगरपालिकाको वडा नं. २, ३ र ४ मा बर्डफ्लुको सङ्क्रमण भेटिए संगै नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण मौलीले बताए ।

प्रमुख प्रशासकीय अधिकृत मौलीका अनुसार अहिले रोग पुष्टि भएका क्षेत्रहरूमा रहेका सम्पूर्ण हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पंक्षीहरू तथा तिनका अन्डा र दानालाई पूर्णरूपमा नष्ट गर्ने कार्यलाई तिव्रता दिईएको पनि जानकारी दिए ।

साथै नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशलाई पूर्णतः निषेध गर्न र प्रवेश गराउनै पर्ने अवस्थामा अनिवार्य रूपमा निसंक्रमण गरेर मात्र प्रवेश गराउन समेत सवैमा आग्रह गरेको छ ।


बर्डफ्लु पंक्षीहरूबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त ‘जुनोटिक’ रोग हो ।