सिता शिवानी श्रेष्ठले गैरआवासीय नेपाली संघ एनआरएनए नर्वेको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जाल मार्फत उमेदवारी घोषणा गर्दै ‘समावेशी सोच, समान सहभागिता र साझा भविष्य निर्माण’ को मूल नाराका साथ नर्वेमा रहेका सम्पूर्ण नेपालीको आवाजलाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने अठोट व्यक्त गरेकी हुन्।
श्रेष्ठले भनेकी छन् –‘नयाँ पुस्ताको जोश र पुराना पुस्ताको अनुभव जोड्ने पुल बन्ने मेरो संकल्प छ। हामी सबैको आवाज सुन्ने, समेट्ने र व्यवहारमा उतार्ने नेतृत्वको अहिले आवश्यकता हो । म त्यही नेतृत्व दिन तयार छु।” श्रेष्ठले आफू नेतृत्वमा आएमा सबैका लागि समान अवसर, महिलाको सशक्त सहभागिता, युवा र अनुभवी पुस्ताबीचको सहकार्य, पारदर्शी, उत्तरदायी र समावेशी संस्था निर्माण नै आफ्नो दृढ़ संकल्प रहेको बताइन ।
उनले एनआरएनए नर्वेलाई “हामी सबैको साझा घर, साझा भविष्य” को रूपमा परिभाषित गर्दै नेपाली डायस्पोराबीच आपसी सहयोग र सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्य रहेको बताएकी छन्। श्रेष्ठको उम्मेदवारीसँगै एनआरएनए नर्वेमा नेतृत्व परिवर्तनको बहस फेरि तातिएको छ। आगामी चुनावमा अन्य उम्मेदवारहरू पनि मैदानमा आउने चर्चा भइरहेका छन्। साथ, सुझाव र समर्थनको अपेक्षा गर्दै श्रेष्ठले समस्त नेपाली समुदायलाई सहकार्यका लागि आह्वान गरेकी छन्।
न्यूज समय
१ श्रावण, २०८२, बिहीबार ००:००