गजलकार एवम् साहित्यकार बिटु केसीको गजलसङ्ग्रह धीत अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्याल, गजलकार ज्ञानुवाकर पौडेल, वरिष्ठ सिने निर्देशक प्रकाश सायमी, पत्रकार अश्विनी कोइराला तथा लेखक बिटु केसीले संयुक्त रुपमा लोकार्पण गरेका छन् । गजल लोकार्पण समारोहमा २० महिनाअघि अमेरिकाबाट स्थायीरुपमा नेपाल फर्किएकी गजलकार केसीले गजल लेखनमा आफ्नो धीत अझै जीवन्त रहेको बताइन् ।
प्रसिद्ध गजलकार ज्ञानुवाकर पौडेलले आफ्नो ५५ वर्षको अनुभवमा यति व्यवस्थित र सभ्य विमोचन कार्यक्रम एक दुईटा मात्रै देखेको भन्दै बिटु केसीका गजलहरुमा सकारात्मक भावको प्रशंसा गरे । चर्चित गीतकार एवम् वरिष्ठ अर्थशास्त्री डा. विश्वम्भर प्याकुर्यालले धीत गजलसङ्ग्रहमा भएका गजलहरु देश परिवेश, मनोभाव, विकृति र सामयिकतासँग गाँसिएको बताउँदै गजलको नियम र अर्थनीतिमाथि आफ्नो धारणा व्यक्त गरे । वरिष्ठ सिने निर्देशक प्रकाश सायमीले गजलकार बिटु केसीको लेखन प्रतिभाको तारिफ गर्दै आफ्नो शुभकामना व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता गर्ने साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले गजलकार बिटु केसीको साहित्यप्रतिको लगाव देखेर आफू प्रभावित भएको बताउँदै धीत प्रकाशनको क्रममा भएका सकारात्मक अनुभव उल्लेख गरे । एपेक्स बिजिनेस होटलमा आयोजना भएको सो लोकार्पण समारोहमा बहुआयामिक श्रोता, दर्शकहरुको व्यापक सहभागिता थियो । शब्दपथ र साहित्यपोस्टले प्रकाशन गरेको गजलसङ्ग्रह धीतमा ८२ गजल समावेश छन् ।
न्यूज समय
४ जेष्ठ, २०८२, आईतबार ००:००