अनेरास्ववियुले १४ क्याम्पसमा उमेदवार टुंगो लगाउदा, नेविसंघले बल्ल तोक्यो १४ समितिका संयोजक

न्यूज समय


काठमाडौं । आउने चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मुख्य प्रतिष्पर्धी विद्यार्थी संगठन भनेको दुई सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ र नेकपा एमालेको भ्रातृसंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु हुन । दुवै विद्यार्थी संगठन स्ववियु चुनावको तिव्र तयारीमा जुटेका छन् । स्ववियु चुनाव अन्तर्गत आज सोमबार संघ/संगठन दर्ता हुँदै छन् । चैतमा ५ हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा सोमबार दिउँसो तीन बजेसम्म संघ/संगठन दर्ताको कार्यक्रम तय भएको हो । निर्वाचन कार्यक्रमअनुसार २१ फागुनमा मतदाता सूची प्रकाशित, २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध र छानबिनको कार्यतालिका छ ।

तयारीमा नेविसंघ भन्दा अनेरास्ववियु अगाडि देखिएको छ । अनेरास्ववियुले १४ वटा क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार टुंगो लगाउदा नेविसंघले स्ववियु निर्वाचन तयारीका लागि १४ समिति गठन गरेको छ । प्रचार–प्रसार समितिमा यङ्जोर कार्की, घोषणापत्र तयारी समितिमा विकल राई, स्ववियु निर्वाचन सारक्षरता र अभिमुखीकरण समितिमा सुशान्त आचार्य, अन्तर विद्यार्थी संगठन समन्वय समितिमा पंकजकुमार क्षेत्रीलाई संयोजक तोकिएको छ । पार्टी भित्रका समूह अनुसार भागबन्डा मिलाउन समितिको संख्या १४ पुरयाईएको छ । ८ समिति बनाउने पूर्वतयारी थियो । सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षलाई १४ समितिमा भागबन्डा गरिएको हो । संस्थापन ईतरका नेता कोइराला पक्षलाई चारवटा समितिको संयोजक दिइएको छ । महामन्त्री गगन थापा पक्षबाट तीन जना समिति संयोजक बनेका छन् ।

उता अनेरास्ववियुले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि १४ वटा क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार टुंगो लगाएको छ । जसमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सिद्धान्त भट्ट,रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौँमा लोकेश खड्का, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, जनकपुरमा पुरुषोत्तम चौधरी सभापतिका उम्मेदवार टुंगो लागेको छ ।

त्यसैगरी वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा पवन यादव, ग्रामीण आदर्श क्याम्पस, नेपालटारको सभापतिमा बैकुण्ठ (अशोक) खनाल,पशुपति बहुमुखी क्याम्पसमा सोनाम मोक्तान, एनआर क्याम्पस नेपालटारमा निरज श्रेष्ठ, पब्लिक युथ क्याम्पस,धोबिचौरमा निराजन विक्रम शाही, कोटेश्वर बहुमुखी, कोटेश्वरमा शर्मिला भण्डारी, अनिश बोगटी महेन्द्र मोरङ, सर्लाही बहुमुखी क्याम्पस सर्लाहीमा कृष्ण कुमार यादब चिन्टु, महेन्द्र बहुमुखी दाङमा सागर पण्डित सभापतिका उम्मेदवार टुंगो लागेका छन् । पूर्वाञ्चल क्याम्पस धरानमा ईश्वर बन्जाडे, पंकज गुप्ता महाराजगन्ज मेडीकल क्यापस र जनप्रिय क्याम्पस पोखरा आविष्कार के.सी सभापतिका उम्मेदवार टुंगो लागेका हुन् ।