दुवै संसदको बैठक बस्दै, ६ अध्यादेश परेनन् कार्यसूचीमा

न्यूज समय

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनको तेस्रो बैठक आज बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो ।प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभा बैठक पनि दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसका साथै गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ । हिउँदे अधिवेशनअन्तर्गत दोस्रो दिनको बैठकमा कार्यसूचीमा राखेर हटाइएका अध्यादेश त्यसपछिका बैठकमा राखिएको छैन । प्रतिनिधिसभामा दुई तिहाई बहुमत नजिक रहेको सरकार राष्ट्रिय सभामा अल्पमतमा हुँदा अध्यादेश कार्यसूचीमा नपरेका हुन्।

राष्ट्रियसभाबाट पारित गर्नका लागि जनता समाजवादी पार्टी जसपा नेपालसँग छलफल भए पनि कुरा नमिल्दा अध्यादेश अन्योलमा पुगेका हुन् । सरकारले ल्याएका अध्यादेश संसदबाट स्वीकार भएपछि प्रतिस्थापन विधेयक ल्याउने संवैधानिक व्यवस्था छ। स्वीकार नभएमा भने स्वतः निस्कृय हुनेछन् ।