लाहान । सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मोज्दात हुँदा हुँदै पनि यहाँका किसानले पाएका छैनन् । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको कोटा निर्धारण नगर्दा किसानले मल नपाएका हुन् ।
कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रबन्धक दीपराज पौडेलले मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको कोटा यकिन नगर्दा रासायनिक मल वितरणमा ढिलाइ भएको बताए । लहानस्थित कृषि सामग्री कम्पनीले कोशी प्रदेशका खोटाङ, ओखलढुङ्गा, सोलु र मधेश प्रदेशको सिरहामा रासायनिक मल वितरण गर्दै आएको छ ।
प्रबन्धक पौडेलका अनुसार कोशी प्रदेशले आफ्ना जिल्लामा पठाउनुपर्ने मलको सङ्ख्या उल्लेख गरी पठाइसकेकाले कोशी प्रदेशका ती जिल्लामा माघको पहिलो हप्ताभित्रै मल वितरण गरिएको छ ।
प्रक्रियागत त्रुटिका कारण गहुँमा रासायनिक मल हाल्ने ‘पिक’ समय हुँदासमेत कृषकले मल पाएका छैनन् । तर, कम्पनीको गोदाममा हाल पाँच सय मेट्रिकटन डीएपी र सात सय मेट्रिकटन युरिया मल मौज्दात रहेको कार्यालयले जनाएको छ ।
न्यूज समय
९ माघ, २०८१, बुधबार ००:००