एमाले महासचिव शंकर पोखरेलले गरे मोहन बडुवालसहित सिंगो जिल्ला कमिटीलाई स्वागत
नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधव नेपालले एमालेबाट फुट्नुको औचित्य पुष्टि गर्दै गर्दा सुर्खेत जिल्ला कमिटी अध्यक्ष मोहन बडुवालसहित सिंगो कमिटी एमालेमा समाहित भएको छ ।
पार्टी संगठनलाई मजबुत बनाउने एजेन्डसहित केन्द्रीय कमिटी बैठक चलिरहेको अवस्थामा एमाले महासचिव शंकर पोखरेलले एउटा जिल्लाको सिंगो कमिटीलाई पार्टीमा स्वागत गरेका हुन् ।
पत्रकारिता पेसापछि राजनीतिमा आएका बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिव थिए । माधव नेपालले पार्टीमा विद्रोह गरेर गएपछि बनेको नेकपा एसको सुर्खेत अध्यक्ष बनेका हुन् ।
पार्टी विभाजनमा माधव नेपालको टिमलाई साथ दिएका बडुवालसँगै नेकपा एसका १०० जना नेता कार्यकर्ता बुधबार एमालेमा फर्किएका छन् । उनी एमालेमा तत्कालीन सुर्खेत जिल्ला सचिव थिए ।
बडुवाल गत मंसिरमा सम्पन्न सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका थिए । पाँच दलीय गठवन्धनले बडुवाललाई टिकट नदिएपछि उनी उतिबेलै रुष्ट बनेका हुन् ।
पार्टीबाट टिकट लिएर मित्रवत प्रतिस्पर्धा गरेका बडुवाल गठबन्धन दल माओवादी केन्द्रका विन्दमान विष्टसँग पराजित भएका थिए ।
एमाले फर्किएपछि बडुवालले जनताको बहुदलीय जनवादको रक्षाका लागि आफ्नै घरमा आएको बताए । पछिल्लो समय एकीकृत समाजवादीले अरुको खुट्टामा टेकेर पार्टीको विधि र सिद्धान्त बिर्संदै गएपछि आफू एमालेमै फर्किएको उनी बताउँछन् ।
न्यूज समय
६ भाद्र, २०८०, बुधबार ००:००